Thursday, July 15, 2010

गजल- बज्र कुमार राई

यो उदासीमा दिल खोलेर हाँस्न पाए पो!
अनाथ जीवन तिमीसँगै बाँच्न पाए पो !


अति निर्जन कल्पनामा डुलिरहेछ मन
यथार्थमा प्रिय साइनो गाँस्न पाए पो !


फेलैफेल भएँ क्यारे तिम्रो प्रेम-परिक्षामा
एकपटक त तिम्रै मुटु जाँच्न पाए पो !


मान्छे त कताकता छाँयासम्म भागी हिड्छौ
यस्तो लाग्छ हात समाई नाँच्न पाए पो !


तिम्रै यादको छट्पटीले बित्छन् रातहरु
यी पलपलमा तिम्रो माया साँच्न पाए पो

कविता , यसपालीको कविता -बज्र कुमार राई

मर्नेहरुको रगतले-
बाँच्नेहरुको स्वप्नील देशमा
संबिधानको किताब लेखिएन।
मानौं लख्ने नेत्रित्वदायीहरु
लेख्नै नजान्ने थिए।
के गाली गरुँ-
ति विवशहरुलाई
जो ति ब्रिद्धशिशुहरु
भर्खरै कक्षा एकको सरकारी पाठशालामा
पढदै थिए निशु:ल्क
आकर्षक तलब-भत्ता खाँदै।

फेरी समयको पाउबन्दी देखाएर
थपे समय
त्यही 'होमवर्क' लेख्नलाई।
भनेनन तर-
हामी दुइ साल एकै कक्षामा 'फेल' भयौं भनेर।
अझै मन नखुम्च्याउँ
अझै आशा नमारौं
मानौं यीनीहरुले लेख्नेछन्
नयाँ किताब
र,बाँड्नेछन् हाम्रो हातहातमा।
तर त्यो-
साह्रै केरमेट हुने पो हो कि!
अति अस्पष्ट हुने पो हो कि!
आशंका उत्तिकै छ मनमा।
खोइ के लेख्यौं यस्तो-
असफल र बेमेल
यसपालीको कविता।

झण्डाहरु धेरै फहराए
सपनाहरु धेरै बाँडिए
सहमती र सम्झौताहरु धेरै भए
तर हाम्रो पेटका लागि-
ति झण्डाका हँसिया-हथौडा
हलो-जुवा काम लागेनन्।
ति झण्डाका ताराहरु
हाम्रो बर्तमान र भविष्यका लागि
उदाउन सकेनन्।
हाम्रो निधारमा।
हाम्रा नानीहरुले
देशको नक्सा कोरेर
कोइलाले ढुंगामा
क ख लेख्न खोजिरहे।
तर बाँडिएन
ति झण्डाको कलम
बिकटतिर।

देश दुइ लाख रोपनी घट्यो
सीमानाबाट।
तर निकालिएन झण्डाबाट
खुँडा-खुकुरी,मशाल
र, देशको वास्तविक नक्सा।
अनि,गरिएन पनि-
शाहसीक खबरदारी!
ओ वैरी हिम्मत नगरे हुन्छ
वीर गोर्खालीको नेपाल कुल्चने।
हामी हजारका लागि एक काफी छौं
आइ नै लाग्यौ भने-
भूलेर हाम्रो इतिहास भन्दै।
खोइ के लेखौं यस्तो-
लाचारी,बेशरम र पराधीन
यसपालीको कविता।

गाउँमा उर्दी आयो-
शहरको सडकमा
अधिकार खोस्न आउ भनेर
हामी आयौं-
आकाशे पानीले भिजेको माटोमा
मकै छर्न छोडेर।
दुइ छाकको लागि आगो नबल्ने
घर नामको झुप्रोमा
अलपत्र नानीहरु छाडेर।
नाराहरु चिच्याउन
जिन्दाबाद!!!
मुर्दाबाद!!!
तर सुनेन-
शहर र सिंहदरबारले
र,पाइएन पनि
आत्माधिकार।
खोइ के लेखौं यस्तो-
आफैंभित्रको मर्माहत र विवश
यसपालीको कविता।

नहुनेहरु
पसीनाको लेउ पखाल्न नपाएर
गन्ह्राइरहे दंगदंगी दुर्गान्ध।
हुनेहरु
'परफ्युम' छरेर शरीरभरी
मग्मगाइरहे कृत्रिम सुगन्ध।
गरीब बाउका तरुनी छोरीहरु
बेची नै रहे-
सीमापारिका'पिलाहाउस'तिर।
र बेची नै रहे-
लालचमा
हाम्रा दिदिबहीनीहरु
मरुभूमितिर।
कुनेपाली दलालहरुबाट।
खोइ के लेखौं यस्तो-
धर्ती-आकाश नै जती
असमान र सत्य
यसपालीको कविता।

डर्,धम्कि,अपहरण,असुली
हत्या \ आत्महत्या
दैनिकी बन्यो देशमा
भ्रष्ट्र \ भ्रष्ट्रचार
अन्याय \ अन्यायी
झनझन बढे देशमा
महँगी \ महँगाइ
उक्लियो चरमचुलीतिर
गरीबको पेट कुल्चँदै।
र भोकै-नांगै भए
जनता नामको प्राणी।
खोइ के लेखौं यस्तो-
अनैतिक,गैर जिम्मेवार
र, नियम- कानुनबिहीन
यसपालीको कविता।




ReplyReply All

गजल- बज्र कुमार राई

धेरै भयो मेरो खबर पाउन छाडे छौ
यो जुनिमा मेरो माया लाउन छाडे छौ

यो मनको बेदनालाई मैले पठा'को'थें
ति हरफलाई गीत बनाई गाउन छाडे छौ

रोजि हिड्दा दोबाटोमै राम्रो मिल्यो क्यारे
मलाई भेट्ने बगैचामा धाउन छाडे छौ

हर कोशिशले तिम्रो माया पाउन खोजिरहें
तिमी भने यो भाग्यमा छाउन छाडे छौ

अन्तिम सही भेट्छु भनि कुरें मुलबाटोमा
आजकल तिमी त्यतातिर आउन छाडे छौ

गजल- बज्र कुमार राई

जिउँदो यो लाशलाई ढलाई देउ बरु
चिन्तामाभन्दा चितामा जलाई देउ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु
आउ यो भौतिक शरीर बलाई देउ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो
पलपलको यो लाचारीबाट छलाई देउ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ
आउ आँशुमै बिष छरेर चलाई देउ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता
भैगो त्यो बहुरुपी माया नलाई देउ बरु

गजल - बज्र कुमार राई

सुगा रटाई नारा मात्रै घोक्नु हुन्न अब
नयाँ नेपालको चाहनालाई रोक्नु हुन्न अब

समयको चाल बुझ्दै अघि बढ्नु पर्छ हामी
निर्धाहरुले सधैं बन्दुक बोक्नु हुन्न अब

जटीलताको निराकरण टेबलमा खोज्नु पर्छ
आवेश पाल्दै तातो गोली ठोक्नु हुन्न अब

बिर्सिएर तितो बिगत माटो समाई प्रण गरौं
देशप्रेमीले देशकै शरीर टोक्नु हुन्न अब

मीठो सम्बन्ध निर्माणमा एकाकार हुने बेला
एकार्कामै टाउकोको मूल्य तोक्नु हुन्न अब

गजल- बज्र कुमार राई

भइसक्यौं धेरै टाढा तर किन आशुँ झरेको होला
तिमी छौ हाँशीखुशी मचाहीं किन रुनु परेको होला

सादा थियो त के भो सदाबहार थियो जिन्दगी
फेरी किन हामीले जानीनजानी रंगहरु छरेको होला

न फल्यो न फूल्यो न त मौलाई रह्यो नै माया
अनि किन हामीले चाहनाका बीउहरु छरेको होला

तिम्रा लागि त ति स्‍मृतिहरु समयको खेल भयो
तर किन मभने तिनै यादमा हरपल मरेको होला

छुटिनु नै रहेछ त आखिर यही यथार्थको दोबाटोबाट
अनि किन हामीले अनगिन्ती जंघारहरु तरेको होला

गजल-बज्र कुमार राई

जिन्दगीमा सपना मात्रै फूलाएर गयौ तिमी
तिम्रो त्यो अस्थिर मन डुलाएर गयौ तिमी

भनेकै थिएँ आइन्दा रुनलाई आँशु बाँकी छैन
आज फेरी आँशुकै बाढी हुलाएर गयौ तिमी

एकार्काको यो धड्कनलाई जोडौं भन्थें म त
त्यो मेरो भावनालाई झुलाएर गयौ तिमी

जिन्दगीभरसँगै जिउँनु-मर्नु पर्छ भन्ने हामी
आज किन एक्लै मलाई भूलाएर गयौ तिमी

मनमा दु:ख्छु तनमा दु:ख्छु तिमी पराई हुँदा
उदासी भइ बाँच्न विवश तुलाएर गयौ तिमी

कविता - घडी र मान्छे! - बज्र कुमार राई

घडी रोकिन्न कदापि
त्यहाँ त्यहाँ मान्छेको नाडीमा
ढुकढुकी चलोस् वा नचलोस्
चाहे बिग्रियोस्
भाँचियोस् \ गाडियोस्
चल्दाचल्दै
मान्छेको मनमा
आबिराम घडीको काँटा।

ए आँशुको डबका पिउने लाचरहरु हो!
सयौं पटक नियाल-
त्यसैभित्र
आफ्नो बर्तमान र भविष्यको
उराठिलो छायाँ।
जो तिम्रै निर्दयी हातहरुबाट
जो तिम्रै दलित विचारहरुबाट
हत्या हुन्छन्
निर्मम
घडीका संबाहक तिमीहरु।
जसलाई तिमी बिबशताको उदघोष गर्छौ
र, दयाको उधारो भिख माग्छौ
बारम्बार।

अब स्वीकार गर-
तिमी घडीको हत्यारा हौ।
तिमी आफू बिरुध्दको पाखण्डी हौ।

तिमी
घडीले चोक्टा लुछेका
घडीले बेपत्ता पारेका
घडीले सर्वस्व लुटेका
दुनियाँभरका
सुकेनाश नानीहरु औंल्याएर
बिधुवीको निरसता निचोरेर
प्रस्तुत हुन सक्छौ भलै
तिम्रो मौलिक स्पष्टिकरणमा।
तर,अँध्यारो खोरबाटै
उज्यालोको संकेत बोल्छ सधैं
घडीले
तिम्रा लागि।

तिमी
तिम्रै सत्बुद्धीबाट
तिम्रै सकारात्मक र स्रिजनशील अभ्यासहरुबाट
समानान्तर हुन सक्छौ-
घडीको क्षितिजभन्दा
परपरसम्म।

तिमी कुनै पनि घडीमा
आफूलाई नरोक
नछेक
नअलमलाउ
जसरी,
घडी रोकिन्न कदापि।