Thursday, July 15, 2010

कविता - घडी र मान्छे! - बज्र कुमार राई

घडी रोकिन्न कदापि
त्यहाँ त्यहाँ मान्छेको नाडीमा
ढुकढुकी चलोस् वा नचलोस्
चाहे बिग्रियोस्
भाँचियोस् \ गाडियोस्
चल्दाचल्दै
मान्छेको मनमा
आबिराम घडीको काँटा।

ए आँशुको डबका पिउने लाचरहरु हो!
सयौं पटक नियाल-
त्यसैभित्र
आफ्नो बर्तमान र भविष्यको
उराठिलो छायाँ।
जो तिम्रै निर्दयी हातहरुबाट
जो तिम्रै दलित विचारहरुबाट
हत्या हुन्छन्
निर्मम
घडीका संबाहक तिमीहरु।
जसलाई तिमी बिबशताको उदघोष गर्छौ
र, दयाको उधारो भिख माग्छौ
बारम्बार।

अब स्वीकार गर-
तिमी घडीको हत्यारा हौ।
तिमी आफू बिरुध्दको पाखण्डी हौ।

तिमी
घडीले चोक्टा लुछेका
घडीले बेपत्ता पारेका
घडीले सर्वस्व लुटेका
दुनियाँभरका
सुकेनाश नानीहरु औंल्याएर
बिधुवीको निरसता निचोरेर
प्रस्तुत हुन सक्छौ भलै
तिम्रो मौलिक स्पष्टिकरणमा।
तर,अँध्यारो खोरबाटै
उज्यालोको संकेत बोल्छ सधैं
घडीले
तिम्रा लागि।

तिमी
तिम्रै सत्बुद्धीबाट
तिम्रै सकारात्मक र स्रिजनशील अभ्यासहरुबाट
समानान्तर हुन सक्छौ-
घडीको क्षितिजभन्दा
परपरसम्म।

तिमी कुनै पनि घडीमा
आफूलाई नरोक
नछेक
नअलमलाउ
जसरी,
घडी रोकिन्न कदापि।

No comments:

Post a Comment