Thursday, May 27, 2010

कविता, मेरा आदीम अभिव्यक्ति - बज्र कुमार राई

आज मैले-
घामभित्र मेरो अनुहार नियाल्दा
मेरा आदीम खप्परहरु
ट्वालट्वाल्ती आँखा गाडेर
लखौं चिहानहरु
रोइरहेको भेटें।

मैले अलिकति मात्रै
उसलाई कोट्याएर सोधें-
मेरा पुराना कालखण्डहरुको पाण्डुलिपी।
उसले भन्यो-
ति सबै त चार हरफमा टुंग्याइ दिए
छदमभेषी जोगिहरुले।
र, इतिहासको किताब बनाएर
एकलौटी बखान बाँडे
भूगोलमा।

जोगि न थिए-
धोतिमा छर्लङै लाज छोपेर
धागोमा सर्वस्व गाँठो पारेर
माग्दै हिड्थ्यो-
एउटा मन्दिरको भिख।
हामी त देवता थियौं बाबु!
जोगिको शरणसँग
आफ्नो मरण स्विकारेर
ठुल्ठुला ढुंङाको बीचमा
वेनामे शहीद मरी रह्यौं
यो माटोमा।

बाबु!
अब त घाम बद्ल्यो रे!
अब त नाम बद्ल्यो रे!
के बद्ल्यो त!
इतिहासको झुठो बखान?
के बद्ल्यो त!
हाम्रो पहिचान?
यो माटोमा।

बाबु!
अब त तिमीले
यी घामका बिकिरणहरु चिन्नु पर्छ
त्यसलाई रोक्नु पर्छ \ छेक्नु पर्छ
तिम्रो निधारमा भासिनु अगावै।
यि उज्यालोका अँध्यारोभित्र
तिम्रो लडाईं नितान्त छ
तिम्रो सामुन्ने मै-
नयाँ नयाँ वादी \ प्रतिवादी छन्
तिमीलाई रनभुल्ल पार्ने
प्रयोग र षडयन्त्रहरुसँग।

तिमीले चिन्नै पर्छ
चिन्छौ पनि
मेरो भत्काइएका चिहानहरु।
यी घामसँग
हाम्रो जिन्दगी खोस्दै हिड्दा।

हामी त !
यो हावापानी
यो माटो
यो सीमानाभन्दा
धेरै परपरसम्म छौं।
हामी तिम्रो आदीम!
केवल तिम्रो आदीम!

गजल -बज्र कुमार राई

विपनामा नभेटे'नि सपनामा आउँला सानु!
जुनिभरी तिमीसँग चोखो प्रित लाउँला सानु!

तिमी मागे विधातालाई यो मेरो इच्छा भन्दै
भाग्यमा छैनौ भने अर्को जन्म पाउँला सानु!

सिर्फ तिमी शुरु अन्त्य सबै रहर मरे पनि
प्रतिज्ञाको कमी भए अझै कसम खाउँला सानु!

यो जिन्दगी लुटी रहे एक निमेष बाँकी हुँदा
विदा भए संसारबाट आत्म छोडी जाउँला सानु!

शायद तिमी बिर्सने छौ सबै मेरा ति पलहरु
छाँया भूले घाम बनि मनैभरी छाउँला सानु!

कविता, अनाथ अभिव्यक्ति - बज्र कुमार राई

तिमी
जति निचोर
अनाथ मन
र,पिउन खोज
आँखाको रस।
चुहिदैन नुनिलो आँशु
र,तिमी पिउन सक्दैनौं पनि।
किनकि,
तिमीले पिउने आँशुमा
तिम्रै आलो रगत देख्नेछौ
सधै नै तिमीले।

तिमी
लाख सुइरो घोप
टुहुराको छातीमा।
र,दु:खाउन खोज
मुटु-कलेजो
अति नमिठोले।
दु:खदैन रत्तिभर
र, तिमी दाह्रा किट्दै
चिमोट्न सक्दैनौ पनि।
किनकि,
तिम्रो अनगिन्ति बचन सहँदै बाँचेको
तिम्रै निर्धन मुटु-कलेजो हो यो।

तिमी जत्तिसुकै
क्रुर बर्बरताको प्रदर्शन गर
र, मेटाइदिन खोज
उत्साहको जिन्दगी।
सक्दैनौ मार्न
र,तिमी खान सक्दैनौ पनि।
आफ्नै लाशको गतिलो चोक्टा।

भो
तिमी सपनाको साम्राज्यमा
टुहुराको दरबार बनाउछु नभन
र, नखोस उसको
एक्लोपनको
झस्कँदो निद्रा पनि।
केवल मान्छे!
प्रेममा बाँच्छ।
प्रेमले बाँच्छ।
सिर्फ प्रेम....

गजल - बज्र कुमार राई

थाहै नपाई आज किन आँशु झरेछ
तिमी बिना एक्लै बाँच्ने आशै मरेछ

आफुभन्दा प्यारो मान्ने यो जिन्दगीले
तिम्रो पाइला पछ्याउँदै खोला तरेछ

मभित्र अति हुने तिम्रो यादको भुकम्पले
यो मुटुको कुना कुना हलचल गरेछ

रहर मार्दै बाँच्नु पर्ने मेरै विवशताले
म बस्ने मनको वस्ती अन्तै सरेछ

मेटेर'नि नमेटिने लेखेको लेखान्तमा
सबै दोष र सरापहरु मलाई परेछ

कविता , रातो संकेत - बज्र कुमार राई

मेरो टाउको पर्सेर
मार हान्थ्यौ त-
सहने थिएँ-
निरीह आचनोको भाग्य।
अनि,रातो सिर्का थुक्दै
तिम्रो कोरी अनुहारमा
एकछिन,
निष्प्राण विजोगले छट्पटाउने थिएँ-
रातै भलमाथि।

अफसोच,
तिमीले बलजफ्ती
इज्जत च्यात्यौ मेरो।
र,निर्वस्त्र गल हत्यायौ-
कुमान्छेको मेलामा।
म कति हो कति भागे
म कति हो कति लुके
अनुहार छोपेर।
तर, छाडेनन् कसैले
लखेट्न \ घेर्न
र, लुट्न मलाई।

यो दुनियाँले
मेरो सानो मान \ सम्मानको
अति सस्तोमा लिलामी गर्‍यो
र, गरी नै रह्यो
अनाबरत बलात्कार
जिन्दगीको।

अब,
हेर्न सक्छौ त हेर-
तिम्रा खुल्ला आँखले
तिम्रा निर्दयी मनले
मभित्र दबिरहेको
मेरो क्रुरता
यो क्षण-
म कति आत्मघाती तयार भएको छु
मेरा एकल र रहरमुखी
सपनाहरु अपहरित भएर
हत्या भएपछि
तिम्रो चिहान स्विकार्ने छातीभित्र।

अब त मलाई-
जिउँदो लाश सम्झ
वा साक्षत् भुतप्रेत सम्झ
म आउँदै छु-
तिम्रा हरेक खुशीको उत्सवमा
वा यस्तो सम्झ-
तिम्रो विवाहको मण्डपमा।
तिमीलाई नंग्याएर
तिम्रो आधा प्राण मेट्न
वा अलिकति विद्रोहले
तिम्रो सम्पूर्णता बिगार्न।
तिम्रो दुलहीको सामुन्नेमा।

शायदै तिमी,
अझै बुझ्नेछौ-
यो क्षणको अनुभूति
मेरो यो हिंसाको आरंम्भबाट।
कस्तो हुन्छ-
सपना र रहर मरेको मान्छे।
कस्तो हुन्छ-
त्यो पीडा....
कस्तो हुन्छ-
त्यो विवशता...
यो रातो संकेत तिमीलाई।



Mail Search

गजल - बज्र कुमार राई

खाली यो जिन्दगीमा पीरैपीर भरेर गयौ तिमी
सही नसक्नु आँशुको बीउ छरेर गयौ तिमी

मनमा सधैं पहिरो जान्छ स्‍मृतिको बाढी आउँदा
थाम्दा थाम्दै आँखाको डीलमा झरेर गयौ तिमी

प्रश्न मात्रै सोधि सोधि उत्तर बुझ्छु भन्थ्यौ सधैं
मेरो आत्म खोतलेर अन्तकता सरेर गयौ तिमी

भन्ने गर्थ्यौं अब हाम्रो मिलन हुन्छ यथार्थमा
आउनै लाग्दा खुशीको मौसम टरेर गयौ तिमी

हर्ष-उल्लास केही छैन आज तिमीले एक्लो पार्दा
यो छातीभित्र बाँच्नुको आधार मरेर गयौ तिमी

गजल - बज्र कुमार राई

जिन्दगीमा दनदन आगो बलेर जादैछु
चितामाथि एउटा लास जलेर जादैछु

यो अन्त्यमा तिम्रो साथ लान नमिलेर
रोइ दिने तिम्रा आँखा छलेर जादैछु

अभागी यो पुर्पुरोमा अरु आयु नपाएर
पहाड झैं तिम्रो विश्वास ढलेर जादैछु

हिजोसम्म तिम्रो सामु हारी मात्रै रहें
बल्ल आज रातो अबिर दलेर जादैछु

तिम्रो लागि यो मुटु छाड्न नमिलेर
तिम्रो दिलको धड्कनसँग चलेर जादैछु

गजल - बज्र कुमार राई

मनको भित्ता रंगाउने रंग चुनमा छैन साथी
आफ्नो जस्तो सफा सोचाई उनमा छैन साथी

जिन्दगीका गीतहरु बिछोडका घाऊ झैं बच्छन्
फेरी अर्को नयाँ भाका कुनै धुनमा छैन साथी

हिड्दै थिएँ उज्यालोमै अध्यारोले छोप्यो आज
टहटह छाइ दिने मन यो जूनमा छैन साथी

जन्मीने रहर बीचमा हत्या भए सपनाहरु
बचाइ दिने आफ्नो नाता खुनमा छैन साथी

दिदा दिदै रीत्तो भयो उधारोमा यो जिन्दगी
प्रतिफलको हिसाब किताब गुणमा छैन साथी

गजल - बज्र कुमार राई

साडेसातको दशा ठान्थ्यौ टरेपछि आउनु
अन्तिमसम्म माया गरें मरेपछि आउनु

गदगद हुँदै म जलेको धुँवा सुँघ्छौ भने
आर्यघाटमा मेरो चिता बलेपछि आउनु

बाचाएर मेरो माया ह्रिदयमा राख्छौ भने
यो शरीरको धुलो खरानी झरेपछि आउनु

बंगलामा बसे पनि निंदाउने ठाउँ नपाएर
स्वर्गबासमा मैले डेरा सरेपछि आउनु

जाने बेलासम्म पनि तिमीलाई खोजिरहें
यो खबरले तिम्रो आत्म भरेपछि आउनु

गजल - बज्र कुमार राई

यो छातीलाई सधैं मुड्की हान्दै बाँचेको छु
तिम्रो लागि अन्तिम प्राण धान्दै बाँचेको छु

तिम्रो यादको भल-बाढी मनमा मिसिएर
यो जीवनमा रगत-आँशु छान्दै बाँचेको छु

खिल पल्टेका काँडाहरु झिकीदिने नभएर
यो मुटुलाई तिखो भाला हान्दै बाँचेको छु

काटे-मारे जे गरे'नि भावबिहीन भएर म
आज आफ्नो जिउँदो लाश तान्दै बाँचेको छु

दु:खसँग डराएर भागिरहेका हाँसो-खुशी
एक दिन त पाउँछु भन्ने ठान्दै बाँचेको छु