मेरो टाउको पर्सेर
मार हान्थ्यौ त-
सहने थिएँ-
निरीह आचनोको भाग्य।
अनि,रातो सिर्का थुक्दै
तिम्रो कोरी अनुहारमा
एकछिन,
निष्प्राण विजोगले छट्पटाउने थिएँ-
रातै भलमाथि।
अफसोच,
तिमीले बलजफ्ती
इज्जत च्यात्यौ मेरो।
र,निर्वस्त्र गल हत्यायौ-
कुमान्छेको मेलामा।
म कति हो कति भागे
म कति हो कति लुके
अनुहार छोपेर।
तर, छाडेनन् कसैले
लखेट्न \ घेर्न
र, लुट्न मलाई।
यो दुनियाँले
मेरो सानो मान \ सम्मानको
अति सस्तोमा लिलामी गर्यो
र, गरी नै रह्यो
अनाबरत बलात्कार
जिन्दगीको।
अब,
हेर्न सक्छौ त हेर-
तिम्रा खुल्ला आँखले
तिम्रा निर्दयी मनले
मभित्र दबिरहेको
मेरो क्रुरता
यो क्षण-
म कति आत्मघाती तयार भएको छु
मेरा एकल र रहरमुखी
सपनाहरु अपहरित भएर
हत्या भएपछि
तिम्रो चिहान स्विकार्ने छातीभित्र।
अब त मलाई-
जिउँदो लाश सम्झ
वा साक्षत् भुतप्रेत सम्झ
म आउँदै छु-
तिम्रा हरेक खुशीको उत्सवमा
वा यस्तो सम्झ-
तिम्रो विवाहको मण्डपमा।
तिमीलाई नंग्याएर
तिम्रो आधा प्राण मेट्न
वा अलिकति विद्रोहले
तिम्रो सम्पूर्णता बिगार्न।
तिम्रो दुलहीको सामुन्नेमा।
शायदै तिमी,
अझै बुझ्नेछौ-
यो क्षणको अनुभूति
मेरो यो हिंसाको आरंम्भबाट।
कस्तो हुन्छ-
सपना र रहर मरेको मान्छे।
कस्तो हुन्छ-
त्यो पीडा....
कस्तो हुन्छ-
त्यो विवशता...
यो रातो संकेत तिमीलाई।
Mail Search
Thursday, May 27, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment