Thursday, May 27, 2010

कविता, मेरा आदीम अभिव्यक्ति - बज्र कुमार राई

आज मैले-
घामभित्र मेरो अनुहार नियाल्दा
मेरा आदीम खप्परहरु
ट्वालट्वाल्ती आँखा गाडेर
लखौं चिहानहरु
रोइरहेको भेटें।

मैले अलिकति मात्रै
उसलाई कोट्याएर सोधें-
मेरा पुराना कालखण्डहरुको पाण्डुलिपी।
उसले भन्यो-
ति सबै त चार हरफमा टुंग्याइ दिए
छदमभेषी जोगिहरुले।
र, इतिहासको किताब बनाएर
एकलौटी बखान बाँडे
भूगोलमा।

जोगि न थिए-
धोतिमा छर्लङै लाज छोपेर
धागोमा सर्वस्व गाँठो पारेर
माग्दै हिड्थ्यो-
एउटा मन्दिरको भिख।
हामी त देवता थियौं बाबु!
जोगिको शरणसँग
आफ्नो मरण स्विकारेर
ठुल्ठुला ढुंङाको बीचमा
वेनामे शहीद मरी रह्यौं
यो माटोमा।

बाबु!
अब त घाम बद्ल्यो रे!
अब त नाम बद्ल्यो रे!
के बद्ल्यो त!
इतिहासको झुठो बखान?
के बद्ल्यो त!
हाम्रो पहिचान?
यो माटोमा।

बाबु!
अब त तिमीले
यी घामका बिकिरणहरु चिन्नु पर्छ
त्यसलाई रोक्नु पर्छ \ छेक्नु पर्छ
तिम्रो निधारमा भासिनु अगावै।
यि उज्यालोका अँध्यारोभित्र
तिम्रो लडाईं नितान्त छ
तिम्रो सामुन्ने मै-
नयाँ नयाँ वादी \ प्रतिवादी छन्
तिमीलाई रनभुल्ल पार्ने
प्रयोग र षडयन्त्रहरुसँग।

तिमीले चिन्नै पर्छ
चिन्छौ पनि
मेरो भत्काइएका चिहानहरु।
यी घामसँग
हाम्रो जिन्दगी खोस्दै हिड्दा।

हामी त !
यो हावापानी
यो माटो
यो सीमानाभन्दा
धेरै परपरसम्म छौं।
हामी तिम्रो आदीम!
केवल तिम्रो आदीम!

No comments:

Post a Comment