Thursday, August 26, 2010

कविता- विरोधाभास - बज्र कुमार राई

आज निष्पट अँध्यारो छ
भोलि उज्यालो आउँछ पक्कै
तर, खोइ म के भनुँ?
कसरी भनुँ?
भोलिसम्म बाँच्नै नसक्ने
यी हर अन्धकारका
अभागी यात्रीलाई।

जीवन संघर्ष हो-
र,संघर्ष सधैं बिजयी हुन्छ भनेर
म कुन महान युध्दको इतिहास देखाउँ?
रगतको आहालबाट
गरीबको विभत्स्य टाउको झिकेर।
जसलाई,
न झण्डाले चिन्यो
न डण्डाले चिन्यो
निरर्थक मारीए-
बिचरा ति भोलिका उज्यालो देख्न चाहनेहरु।

किन हो खोइ!
मलाई त यस्तो लाग्छ-
भोलिको उज्यालोमा
एकाबिहानै
काग,गिध्द र हुचिलहरु
सर्प, बिरालो र मालसाप्राहरु
ब्वाँसो,स्याल-प्याउराहरु
उठ्ने छन् जुरुक्कै
अशक्त मान्छेको गन्धले।
र, फेरी लुछ्ने छन्
फेरी घिसार्ने छन्
मान्छेलाई।
अनि, म कसरी भनुँ!?
उज्यालोमा मान्छे सुरक्षित छ भनेर
भलै म उज्यालो र भोलिको कट्टर दुष्मन होइन।

ए! भोलिको सपना सजाउनेहरु हो
भोलि पक्कै आउँछ
उज्यालो भएर।
आशा गर-
पक्कै त्यो -
आउँछ आउँछ
तर,कसरी आउँछ!
त्यो भोलि नै देख्नेछौ।

गजल- बज्र कुमार राई

जिउँदो यो लाशलाई ढलाई देउ बरु
चिन्तामाभन्दा चितामा जलाई देउ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु
आउ यो भौतिक शरीर बलाई देउ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो
पलपलको यो लाचारीबाट छलाई देउ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ
आउ आँशुमै बिष छरेर चलाई देउ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता
भैगो त्यो बहुरुपी माया नलाई देउ बरु

गजल - बज्र कुमार राई

सुगा रटाई नारा मात्रै घोक्नु हुन्न अब
नयाँ नेपालको चाहनालाई रोक्नु हुन्न अब

समयको चाल बुझ्दै अघि बढ्नु पर्छ हामी
निर्धाहरुले सधैं बन्दुक बोक्नु हुन्न अब

जटीलताको निराकरण टेबलमा खोज्नु पर्छ
आवेश पाल्दै तातो गोली ठोक्नु हुन्न अब

बिर्सिएर तितो बिगत माटो समाई प्रण गरौं
देशप्रेमीले देशकै शरीर टोक्नु हुन्न अब

मीठो सम्बन्ध निर्माणमा एकाकार हुने बेला
एकार्कामै टाउकोको मूल्य तोक्नु हुन्न अब

गजल- बज्र कुमार राई

भित्र पत्र चोरी भएको खाम भयो मेरो माया
गोप्य कुरा हल्ला चल्यो बदनाम भयो मेरो माया

उनीलाई भेट्ने चौतारीमा कुरीरहन्थें सधैं
अर्कै बाटो हिड्न थालेछिन् बेकाम भयो मेरो माया

दुई मुटुको अन्तर-सम्बन्ध अनमोल छ भन्थें
किन्नेहरुको बिगबिगीमा लिलाम भयो मेरो माया

मनको देवी खोज्नलाई टाढा मन्दिर नजाउँ भन्दा
घरै छेउको अपहेलित धाम भयो मेरो माया

मन खुशीको उज्यालोमा दुइ जिन्दगी बिताउँ भन्दा
भोगाइमा क्षितिजपारीको घाम भयो मेरो माया

गजल- बज्र कुमार राई

आउँदै गरेका खुशीहरु टर्ने भयो आज
छातीभित्रै चाहनाहरु मर्ने भयो आज

तिम्रो लागि रातो गुलाब रोपेको'थें मैले
कोपिलामै ति फूलहरु झर्ने भयो आज

पीडा नै प्रिय लाग्छ तिम्रो यादमा भक्कनिंदा
यि आँखाले आँशुको बिष भर्ने भयो आज

भावनाको सुन्दर महल अन्तर्घातले ढलेपछि
यो उदासी मनले डेरा सर्ने भयो आज


स्वार्थी यो शहरमा तिम्रो खुशी नभेटेर
जिन्दगीले सात समुन्द्र तर्ने भयो आज

गजल-बज्र कुमार राई

मेरो यो शरीरमा खुन जस्तो तिमी
जिन्दगीको अध्याँरोमा जुन जस्तो तिमी

तिमीबिना जिउँनुको कुनै स्वाद छैन
म बाँच्नुको दैनिकीमा नून जस्तो तिमी

विवशताको जाडोले आफैंभित्र कठांग्रिदा
यथार्थमा न्यानो दिने उन जस्तो तिमी

मेरा सारा आशा-भरोशा कालो-मैलो हुँदा
पुन: जीवन रंगाउने चुन जस्तो तिमी

नियतिको चोटैचोटले जीवन भूल्न लाग्दा
इश्वरीय आनन्दको धुन जस्तो तिमी

गजल - बज्र कुमार राई

सभासदज्यु! देश \ बिदेश डुल्दै हुनुहुन्छ
गैर जिम्मेवार साँठगाँठमा घुल्दै हुनुहुन्छ


जनता भिखारी झैं बाँच्न विवश छन्
उहाँहरु अर्बौं सिध्याएर फूल्दै हुनुहुन्छ


मिति बढाएरै छाडे तलब-भत्ता राम्रै छ
हेर्नुस् उहाँहरु बैठकमा झुल्दै हुनुहुन्छ


लोकतन्त्रमा उहाँहरुको परिबर्तन हेर्नुहोस्
नब-मुखियाको ढंगले खुल्दै हुनुहुन्छ


देशबिनाको जनता यी दुईबिनाको नेता
दुनियाँमा हुदैंन भन्ने भूल्दै हुनुहुन्छ