Thursday, August 26, 2010

कविता- यो शहरसँग - बज्र कुमार राई

यो शहरसंग
न जन्ती छ, न मलामी छ
सहोदर खुनमा पनि।
यो शहर बेसंस्कार र बेशरम भएको छ।
यो शहर निर्दयी र आत्मघाती भएको छ।

यो शहर
उल्टो गतिमा
दौडदै छ
फैलिंदै छ
भोको समयको विवशता सँगसँगै।
रत्नपार्क
सुन्धारा
अनि, यस्तै भावनाहीन
ठमेलहरु भएर....
जहाँ संमबेदनाबिहीन कविताहरु
बेच्छन्-
संकटग्रस्त,अशुरक्षित
आफ्नो अस्मीता छ्यासछ्यास्ती
एकबट्टा सिगरेटभन्दा सस्तोमा।

यो शहरसँग
प्रेम छैन\समर्पण छैन
विश्वास छैन \ सुवास छैन
जीवनको कुनै आरोहण छैन
यो शहर आमा बेच्ने थाइल्याण्ड भएको छ।
यो शहर नांगो-निर्लज्ज र बलिष्ठ अमेरीका भएको छ।

यो शहरसँग
जानेर जान्न नसकिने
बुझेर बुझ्न नसकिने
देखेर देख्न नसकिने
ठूलो वेवास्ता छ लाचारीको।

भोगाइमा-
बिपन्नलाई यो शहर-
भोकमरीको
सोमालिया
युगाण्डा
सियरालियोन भएको छ।
सम्पन्नलाई यो शहर-
धर्तीमा परी नाँच्ने एक टुक्रा भएको छ।
सपना देख्नेहरुलाई यो शहर-
घाँटी रेटीने अफगानिस्थान,इराक भएको छ।
छोरीको भाग्य खोज्नेहरुलाई यो शहर-
मरुभूमिमा बलात्कारको शिविर भएको छ।

खोइ!
कुन \ कस्तो
राष्ट्र \ राष्ट्रियताको पहिचान खोज्नु
निरीह मान्छेले
दृष्‍टिकोणको रक्तअल्पताले
थला परेको
अशिष्ट र पुर्वाग्राही
यो शहरसँग।



Mail Search

No comments:

Post a Comment