Thursday, August 26, 2010

कविता, अफसोच - बज्र कुमार राई

कविलाई
भोक लाग्दा-
कुनै जमाना
कविको छातीमा
गर्वसाथ झुण्ड्याई दिईएका
'मेडल'हरु
खान मिलेन कपाकप।
र,कतै जाकटीमा बिकेनन् पनि।


कवि नांगो हुँदा-
कविको लाज छोपेन
बासी समाचारपत्र झैं
खात लागेका
प्रमाणपत्रहरुले।
र, कसैको आँखामा
बुझाईको दृष्‍टि बदलेन पनि।
किनकि,यो अबकाशप्राप्त राष्ट्रसेबकको
वा बन्दुकमा जिन्दगी राख्ने लाहुरेको
'पेन्शन पट्टा'
होइन।


कवि असहाय र बिक्षिप्त हुँदा-
कविको आँशु पुछेर
धाप मार्ने
कुनै उदारक मान्छे भेटेन।
र, भेटेन-
हात मिलाउने हितैषी पनि।
कविले
यो समाजभरी
यो देशभरी।


खोइ कहाँ गए!
कविको पछीपछी स्वर दिने
ति जुलुश मान्छेहरु!
खोइ किन
आस्थाहीन,विश्वासहीन भए!
कविलाई अबिर दलेर
उत्सव मनाउने
आदर्शवादी सारथीहरु।
खोइ किन
समर्थनहीन भए!
कविको आवाजमा
पट्टट ताली पिट्ने हातहरु।
खास कविको लागि मात्र।


भैगो-
अब कवि!
यी 'मेडल'
हरु
यी 'प्रमाणपत्र'
लाई
आगो लगाएर
बिसर्जित हौ-
इतिहासबाट।
तर नसराप सतीले जस्तो.....
किनकि, एउटा सत्य अफसोच!
यो देश तिम्रो हो
तिमी यो देशको सच्चा प्रेमी हौ।
युगान्तर युगान्तर।

No comments:

Post a Comment