Thursday, August 26, 2010

अन्तिम अनुभूति - कविता - बज्र कुमार राई

जब योजना र कोशिशहरु
भत्कदैं गए \ ढल्दै गए
नाता \ संबन्धहरु
प्रेम \स्नेहहरु
भावाना र साथहरु
अनयास!
छुट्टिदैं गए \ हराउँदै गए


यस्तो बेला,
तिमी त पक्कै छौ भनेर
यो उराठ अनुहारमा
तिम्रो ओठको स्पर्स छाम्दा-
दाँतका गहिरा दोबहरु पो भेटें मैले!


होइन-
यो हुदै होइन भनेर
यो दुर्बल छातीमा
तिम्रो अंकमालले रगाडेका
प्रेमानुभूति खोजें-
त्यहाँ त-
पिरिरहेका \ फैलिरहेका
क्यान्सरमय घाउहरु पो भेटें मैले!


यतिबेला त हो नि!
केही मान्छेहरु कुमान्छे भएर
कुल्चदैं हिडें \ थुक्दै हिडें
निर्बाध
मेरा अबिराम लक्ष्य र संभावनाहरु...


शायद म,
योजनाहरु भत्के भनेर
कोशिशहरु ढले भनेर
दुरगामी बिचारहरुबाट
अन्तरात्माको हिम्मतबाट
पुर्णत: नभत्केको हुँदो हुँ
नढलेको हुँदो हुँ


यसैबेला-
तिमी अन्तर्घातको उपहारहरु छाडेर
भविष्यको सपनाबाट
बर्तमानको साथबाट
जिन्दगीको सार्थक सुगन्धबाट
हरायौ


यस्तो लाग्छ-
अब चाहीं म भत्कें
अब चाहीं म ढलें

No comments:

Post a Comment