आज निष्पट अँध्यारो छ
भोलि उज्यालो आउँछ पक्कै
तर, खोइ म के भनुँ?
कसरी भनुँ?
भोलिसम्म बाँच्नै नसक्ने
यी हर अन्धकारका
अभागी यात्रीलाई।
जीवन संघर्ष हो-
र,संघर्ष सधैं बिजयी हुन्छ भनेर
म कुन महान युध्दको इतिहास देखाउँ?
रगतको आहालबाट
गरीबको विभत्स्य टाउको झिकेर।
जसलाई,
न झण्डाले चिन्यो
न डण्डाले चिन्यो
निरर्थक मारीए-
बिचरा ति भोलिका उज्यालो देख्न चाहनेहरु।
किन हो खोइ!
मलाई त यस्तो लाग्छ-
भोलिको उज्यालोमा
एकाबिहानै
काग,गिध्द र हुचिलहरु
सर्प, बिरालो र मालसाप्राहरु
ब्वाँसो,स्याल-प्याउराहरु
उठ्ने छन् जुरुक्कै
अशक्त मान्छेको गन्धले।
र, फेरी लुछ्ने छन्
फेरी घिसार्ने छन्
मान्छेलाई।
अनि, म कसरी भनुँ!?
उज्यालोमा मान्छे सुरक्षित छ भनेर
भलै म उज्यालो र भोलिको कट्टर दुष्मन होइन।
ए! भोलिको सपना सजाउनेहरु हो
भोलि पक्कै आउँछ
उज्यालो भएर।
आशा गर-
पक्कै त्यो -
आउँछ आउँछ
तर,कसरी आउँछ!
त्यो भोलि नै देख्नेछौ।
Thursday, August 26, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment