Thursday, March 11, 2010

म ढुङ्गा- बज्र कुमार राई

म ढुङ्गा- बज्र कुमार राई
म ढुङ्गा- बज्र कुमार राई7.2105

बाटोमा छु म

माटोमा छु म

जहाँ जहाँ तिम्रो जीवन

पाइतालामा छु म

टेक मलाई

कुल्च मलाई

या फुटाउ मलाई

जहाँ जहाँ तिमी चाहन्छौ

तिम्रो चाहनामा छु म

बहुलाउने खोला-खोल्छाको किनारामा छु म

हल्लिने समुद्रको छालमा छु म

जहाँ जहाँ तिमीसँग विनाशको गति आउँछ

तिम्रो प्रत्येक सुरक्षामा छु म

गाड मलाई

ठड्याउ मलाई

मिलाउ मलाई

या जोड मलाई

जहाँ जहाँ तिमी प्रयत्न गर्छौ

तिम्रो मिठो सपनामा छु म

झम्पल हान

मार्तोल ठोक

ओछ्याउ मलाई

थिच मलाई

सकेजति दबाउ मलाई

जहाँ जहाँ तिम्रो नियोजित योजना

तिम्रो हरेक सफलतामा छु म

कुँद मलाई

बुट्टाबुट्टामा

राख मलाई

चोकचोकमा

मन्दिरमा

गुम्बामा

चर्चमा

मस्जिदमा

या तिम्रो कुलमा

जहाँ जहाँ तिमी आस्थाको आकृति खोज्छौ

तिम्रो जिउँदो सम्पूर्णतामा छु म

म चिच्याउँछु

तिमी सुन्दैनौ

म रुन्छु

तिमी महसुस गर्दैनौ

तिमी प्रेम

म समपर्ण

तिमी शरीर म अस्थिपन्जर

जहाँ जहाँ तिमी बाँचेको हुन्छौ

तिम्रो सबै अस्तित्वमा छु म

म ढुंङा ।

No comments:

Post a Comment