Monday, March 1, 2010

कविता - "जब म हराउँछु" - बज्र कुमार राई

कुनै रात अनयास
म तिमीबाट हराउनेछु
बेठेगान,बेखबर।
तिम्रो पलंङमा सुर्योदय छिरेर
सोध्ने छ मलाई
तिमीसँग।

तिमीले धेरै मन्दिरहरुमा खोज्नेछौ मलाई
तिमीले धेरै देवताहरुसँग सोध्नेछौ मलाई
अहँ,पटक्कै भेट्दैनौं
कुनै मन्दिरमा मलाई
कुनै देवातले भन्दैनन् पनि
मेरो ठेगाना तिमीलाई।

जब तिमी एक्लिन्छौ तिम्रै मनबाट
खोजी गर्ने छौ झनझन् मेरो
आफ्नो भन्नुको पहिलो पंङ्तीमा उभ्याएर।

तिमीले सम्झनेछौ\सम्झनै पर्छ पनि
तिम्रो घाँटीमा बाँधिएको
दाम्लोको गाँठो फुकाइ दिने मै हुँ
तिम्रो छातीमा गाडीएको किला उखेली दिने मै हुँ
तिम्रो गलामा दबिएको आवाज निकालिने मै हुँ
तिम्रो पेटमा पसिनाको रस भरिदिने मै हुँ
तिम्रो यहाँसम्मको जिन्दगीको उटघाटन गरिदिने मै हुँ
आँख अगाडि थिएँ-
देखेनौं त के गरुँ म!
अब नसम्झेर सम्झनु पर्छ तिमीले।
तिमी अति डुब्नेछौ
मेरो खोजिमा
जताततै.

तर नखोज है-
त्यो सुन्दर घरको
झ्यालढोकाहरुमा
कोठाहरुमा
भित्ताहरुमा
तेताकतै-
म पाइला भएर हिंडिरहेको हुन्न।
म लाश भएर निंदाइरहेको हुन्न।
म स्‍मृति भएर झुन्डिरहेको हुन्न।
तर तिम्रो खोजी निरन्तर हुनेछ।
त्यो असंमभब....
हामी नदीका दुई किनारा!!
हामी एउटै सिक्कामा दुई पाटा!!

No comments:

Post a Comment