Friday, February 26, 2010

poem बोइङ्ग र सपनाहरु, -बज्र कुमार राई

प्रत्येक पल
मभित्रको धर्ती
क्रमश: छाड्दै छाड्दै
बादलहरुको स्वप्नील सम्राज्य माथि माथि
बोइङ्ग उड्छ आकाशतिर
र, यो रोकिन्छ समुद्रपारी
आन्जान धर्ती आकाशमा
जहाँ म बेचिएको हुन्छु।

मेरो उडिजाउँ जस्तो उमेर
सम्झौतामा कैद हुन्छ वर्षहरुका लागि
अब म-
उही नामको
उही शानको
अनि
उही उही र केहीको रहन्न
मात्र श्रमीक् म।
मसँग-
भारीका भारी सपनाहरु हुन्छन
बोकाइएका \ जबरजस्ती बोक्नु परेका
आशादीत सपनाहरु।
जसबाट म
उम्केर भाग्न सक्दिन
चिच्याउन \ रुन \ कराउन केही पाउँदिन।

बाँच्नुको भन्दा
मर्नुकै \ मारीनुकै त्रास पालेर
हरेक उज्ज्यालो \ अध्याँरो
छिचोल्नुपर्छ मैले।

यही केही वर्षमा-
फेरी मलाई बोइङ्गले
बाहल श्रंखला बीच उडाउँदै उडाउँदै
मेरो धर्तीमा ओर्हाल्नेछ
यही बीचमा मलाई
केही कमाउनुछ \ केही बचाउनुछ
सुटकेसभरी उपहारहरु जुटाउनुछ
साँच्चै खुशी खुशीले जीवन काटाउँनुछ।

अफशोच,
मेरै भाग्य पर्‍यो भने
विगत इराकको
लेखान्त हुनेछ त्यो।
मैले बिर्से भने-
शवासप्रशवास मरुभूमिमा
संघर्ष हुनेछ जिन्दगीको त्यो
मेरै आँखाले देख्यो भने
चुरोटले पोलिएका
आइरन डामिएका
बलात्क्रत शरीर
दिदी बहीनीको।
मैले भेटें भने जेलमा
ज्यान मुद्दामा फसाइएकी डोल्मालाई
मसँगै मेरो दुखनेछ
मसँगै मेरो राष्ट्रियता उठ्नेछ
र, फेरी बाढी आउनेछ रगतको
मानव वस्तीहरु डुबाउँदै डुबाउँदै।
यो नै शुरुवात र अन्तय हुदैंन
उडिरहनेछ बोइङ्ग
देखिरहनेछ सपनाहरु
जसरी मैले देखें-
बोइङ्ग र सपनाहरु......

No comments:

Post a Comment