Thursday, February 25, 2010

कविता - "म यसरी आउँछु" - बज्र कुमार राई


तिम्रो जीवनमा
आकाशको जुनतारा लिएर आउने होइन
न त वसन्तको पालुवा भएर नै आउँछु
अौन त पक्कै आउँछु-
हावाको मन्दमन्द गति भएर आउँछु
खोला सुसाएको चाल भएर आउँछु
खोल्छाको कलकल आवज भएर आउँछु
त्यो बेला-
मलाई मनभित्र कैद गर्न खोज्ने छौ
मलाई स्पर्शमा बाँध्न खोज्नेछौ
मलाई तस्विरमा सजाउन खोज्नेछौ
अहँ सक्दैनौं तिमीले
मेरो दुकदुकी समाउन
तिम्रो लाख कोशिश असफल हुनेछन्।
म तिम्रो जिवनमा
लालिगुरांसको जंगल फुलेर आउने होइन
न त सेताम्य काँस फुलेर नै आउँछु
आउन त पक्कै आउँछु
क्षितिजमा बिदाइको घाम भएर आउँछु
त्यो बेला-
मलाई समाउन खोज्नेछौ
मलाई बटुल्न खोज्नेछौ
मलाई स्विकार्न खोज्नेछौ
अहँ सक्दैनौं-
मलाई माया गर्न।
चाहेजति नै खोज मलाई
तिम्रो छट्पटीमा..
तिम्रो विवशतामा....
मलाई प्यासमा पिउन खोज्यौ भने
म फेवाताल भएर आउँछु
मलाई आँखामा रसाउन खोज्यौ भने
म बर्सात भएर आउँछु
मलाई निकाल्न खोज्यौ भने-
तिम्रो मन-मस्तिश्कबाट
म हरपलको याद भएर आउँछु
जतिसुकै भाग तिमी
मेरो स्म्रितिको दु:खाईबाट

तिम्रो हरेक पाइलाको
अघिल्तिर उभिंदै आउँछु
म यसरी आउँछु
तिम्रो जिवनमा
जन्मान्तरको प्रेमी भएर.....

No comments:

Post a Comment