Thursday, February 25, 2010

कविता - "समर्पण" - बज्र कुमार राई,

रातो गुलाब देखाउँदै
प्रस्ताब राख्छन प्रेमको।
सुन्दर बगैचाहरु
बारम्बार मलाई।
म एक \ दश \सय बार
तिरस्कार गर्छु!
तिरस्कार गर्छु!!

म बजारीया रंगभन्दा टाढा छु
मलाई त सुनाखरी नै आत्मीय छ
त्यही मेरो स्विकार्य फूल हो।


मेरो प्यास
कताकता बुझे जस्तो गरेर
हत्तारिदैं पछ्याउछन
सङ्लो खोलाहरु
म अन्त्यैतिर मोडिन्छु।
मलाई प्यास धाउनेहारुसँग
असाध्यै डर लाग्छ।
म एउटा रोजाइको निम्ती उपवास बस्दैछु।

गन्हाउँदै
सुगन्धको खोजिमा
मलाई झुठहरुले छोपिदिएकै होस्
म त भावनामा
संसार भुल्ने मान्छे
जो हो एक नै हो-
उसैको श्वासप्रश्वासमा
आफ्नो प्राण खोज्छु।

आबश्यकता हो
सहयात्रीको
अभाब होइन
अंगालोमा बाँध्नेहारुको।
खोजे जस्तै गरेर
रोजे जस्तै देखाएर
बाँधिए जस्तै भैइ दिएर
मिलाई दिन्छु अलिअलि तन-मन त के भो!
मलाई अर्काको सन्तुस्टी मन पर्छ
पग्लियोस धेरै नशाहरु.....
म आफैंलाई ढाँट्दै
कसैमा समाहित भैरहेको हुन्छु।

टुहुरालाई राजा बनाएर
वेसंस्कार
वेअर्थ
म गर्व गरिरहेको हुन्छु।
थाहा छैन-
म उसको आँशुसँग खेलिरहेको हुन्छु।

आउ सम्बन्ध जोड्न खोज्नेहरु हो!
म सपना बाँड्न सिकाउँछु
मुर्ख बनाएर टुहुरालाई
म चरित्र लुकाउन सिकाउँछु
म भनी दिन्छु-
नीहुँ कोट्याएर्....
हो हो हो,मा नै हो!
तिम्रो मन लुट्ने
म जस्तो हुँ नौटंकी
तिम्रै लागि हुँ
तिमी बाहेक
मेरो कुनै सपना छैन।
जे जे सोच-
त्यो त तिम्रो कुरा
मैले सिंहासन तिमीलाई दिएकै हुँ।
मेरो नाटक तिमीमा समर्पण छ।
म तिमीमा समर्पित छु।
नरोक मलाई
नछेक मलाई
बग्न देउ मलाई
तिमीभित्रको बाटो भएर .....
हरपल हरपल

No comments:

Post a Comment