प्रत्येक मान्छेको छातीभित्र
वर्तमान चर्केकोछ
आवेश बढ्दैछ
संकीर्णता उठ्दैछ
कतै यो फुट्दैछ
कतै यो सल्कँदैछ
सबैलाई देश चाहिएकोछ।
र, नै माटोवादीहरुको नंग्राबाट
देशको मुहार नराम्ररी कोतरिएकोछ।
इतिहासमा कहिल्यै नहारेको बहादुरी
व्याख्या गर्ने बुज्रुकहरु
एउटा दुलोमा लुकेर
दृष्टिकोणको बाली
कुटुकुटु सिध्याउँदैछन् !
आमाभन्दा महान हुन्छ देश भनेर
बुझेका जवान देशप्रेमीहरु
कसको बहकाउमा भड्किँदैछन् ?
कुन त्यस्तो स्वर्णिम स्वार्थ प्राप्तिमा
आफ्नी आमाको शरीर
छिमेकीले काटिरहेको सहँदैछन् ?
अस्ति मात्र-
नागरिकता जित्यौं भनेर
निमुखालाई सन्देश बाँड्दै हिँड्नेहरु
कुन अभिप्रायको निम्ति
आमाको पेट फुटाएर
कुन बंगलामा
के-के योजना बुन्दैछन् ?
के-के सम्झौता गर्दैछन् ?
हिजो मात्र-
पेटको लागि
बिमारको लागि
आँशुको लागि
तपाई-हाम्रो गर्विलो भविष्यको लागि भनेर
माटोको बिकट गाँउँवस्तीहरुसँग
कात्रो देखाएर
प्रेम गाँस्नेहरु
कुन विषालु हावाको भुमरीमा फँसेर
रनभुल्ल छन् ?
आफ्नै विजयको रंगहरुसँग हारेर
कस्तो सिद्धान्तको प्रतिपादनमा छन् ?
सयौं वर्षपहिले
समयले फालिसकेको
एकात्मक टोपी र लौरोलाई
अवतार मानेर
मान्छे र देशमाथि
हुकुम चलाउँदै
मस्तीको जिन्दगी बिताउनेहरु
कुन ‘चेस बोर्ड’मा विचारमग्न छन् ?
कस्तो सही मौकाको प्रतीक्षामा
कुन चाल समातेर कहाँ-कहाँ बसेकाछन् ?
भर्खरै मात्र -
समयलाई जालमा पारेर
देशको समथर भू-भाग
हाम्रै मात्र हो भन्दै
देशको सम्पैर्ण भूगोल बिर्सनेहरु
कुन परचक्रीको धिन्ताङमा
पाखण्डी नाच नाच्दैछन् ?
कुन भाषा-धर्मको महासंग्राम गराएर
राष्ट्रियता ढाल्दैछन् ?
यतिबेला देशलाई-
सच्चा पहरेदार चाहिएकोछ
हामी मौन रमिते लाटाहरुलाई पनि
देश चाहिएकोछ ।
र, नै देश अलमलिएकोछ ।
Thursday, February 25, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment