दिनलाई रात बनाउँदा
रातलाई दिन बनाउँदा
जति अवमुल्यांन हुन्छ समयको।
हो हामी त्यस्तै भएका छौं
तिमी गएपछि......
सुनेको मात्रै हो-
यता हामी निदाउँदा
त्यता तिमी उठ्छौ रे!
यता हामी ब्युँझदा
त्यता तिमी सुत्छौ रे!
त्यसरी पो जम्काभेट नहुदोरहेछ हाम्रो।
कुनै पनि समयमा।
हो हामी त्यस्तै भएका छौं
मनको सम्पर्कमा जोडेर तिमीलाई
छाताछुल्ल पोखिएका छौं
तिमी गएपछि......
गाउँघरतिर तिमीलाई-
दाउरा-घाँसको गुनगुननाइमा खोज्यौं
आलो-पालोमा खोज्यौं
हरेक उत्सवमा खोज्यौं
तर तिमी कुनै ढोल-झ्याम्टा र सनाहीमा थिएनौं
बाँसुरीमा थिएनौं
मादलमा थिएनौं
बिनायो\ मुर्चुङा
अनि सारंगीमा पनि थिएनौं
हो,हामी यस्तै आशे भएका छौं
तिम्रो अनुपस्थितिको।
तिमी गएपछि......
शहरतिर तिमीलाई-
भेडेटार आँखाहरु उचालेर हेर्यौ
तिम्रो पौरखका सुन्दर वस्तिहरु।
त्यहाँ थिएनौं तिमी
धरान भएर बाँचिरहेको।
तिम्रो सम्झनामा अझै चियायौं
फेवातालको छातिमा
मनोरम द्रिश्यहरु
त्याहाँ पनि थिएनौं तिमी
पोखरा भएर बाँचिरहेको।
हो हामी सधैं त्यस्तै देख्न खोज्छौ तिमीलाई।
तिमी गएपछि.....
जोरीपारी
हाम्रो पाइला छेकेर भन्छन्-
"अब यो तेरो बाटो होइन"
वैरीहरु
बन्दुक तेर्साएर भन्छन्-
"अब यो तेरो माटो होइन"
हेर त! कति अभाव छ तिम्रो।
तिमी गएपछि......
कुरा सत्य हो-
तिम्रो आवाज
कताकता जुन्जे जस्तो त लाग्छ
तर हामी उठेको जुलुसमा तिमी पुगेनौं।
तिमी तम्तयारी छौ जस्तो त लाग्छ
तर हामी शहिद हुनुको संख्यामा तिमी गनिएनौं।
यसरी तिमी जाने त गैहाल्यौ.....
हामिलाई त
आजको तुवालो र बादलहरुसँग
लड्दै-भिड्दै
भोलिको सुर्योदय सुनौलो उदाउनु परेको छ।
तिमी गएपछि......
Thursday, February 25, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment