Thursday, February 25, 2010

कबिता, जिउँदो मुर्दा,- बज्र कुमार राई

जब घाऊ उम्लेर छातीभित्र
आँखाबाट पोखिन छाड्छ
त्यहाँ भयानक सपनाहरु
पिरोलिन्छन् \मडारिन्छन्
बिछोडिंदै बिखण्डनमा
जिवनका प्रश्वासहरु!

भित्रभित्रै-
ठोकिन्छन्
लड्छन्
मर्छन्
कुहिन्छन्
बाफिन्छन्
र,बाटो छेकेर
प्रत्येक अबयवमा
विस्फोट हुन्छन्
छाति फुटाउँदै
ज्वलामुखि भएर।

त्यो
रातो-पहेंलो
रगत र पीपको लेदो
निस्तेज आगो भएर बग्छ
कयौं खुशीको फूलबारीलाई
मरुभूमि बनाउँदै।
अहँ,निभ्दैन त्यो-
त्यो बेला
समुद्र फर्काएर त्यो माथि
बगाई नै दिएपनि।

त्यो त-
जिउँदो मुर्दाको विनाशकारी सपनाहरु हो
किन्चित सुन्दैन-
चाहे जति नै सुनाउ
जिवन दर्शनका माहापुराणहरु।

अझै बिन्ति छ!
त्यो सानो घाउ
फुट्न देउ \बग्न देउ
निचोरिन देउ \निको हुन देउ
बरु, घाउको स्पस्ट खाटाहरु नै सही
चोट सहनेहरुको
पीडा भोग्नेहरुको
श्वासप्रश्वास नरोकी देउ
उसैको छातिभित्र पसेर।

No comments:

Post a Comment