देख्दा देख्दै नदेख्ने भएछन
माटोको सपथ खानेहरु
लेख्दा लेख्दै नलेख्ने भएछन
देश लेख्ने कलमहरु
गाउँदा गाउँदै नगाउने भएछन
माटोको गीत गाउनेहरु
सुन्दा सुन्दै नसुन्ने भएछन
उन्मुक्तिको सपना बाँड्नेहरु
हरेराम! सबै सबै परजीवि भएछन
'नयाँ नेपाल' बनाउनेहरु।
अब खोइ!
कहाँसम्म हो
कतिसम्म हो
बलात्कार भोग्नु पर्ने हामीले।
हाम्रो आकाशमा
हाम्रै अस्तित्व लुछ्न
गिद्धहरु घुम्दोछन
हरेकपल हाम्रै खुम्चेको छातिमथि
हजारौं परचक्री सैनिकहरु
परेड खेल्दोछन्।
एम्बुसमय छ
सीमास्तम्भहरु
सयौं बन्करहरु तम्तयार छ युद्धमा
हाम्रो टाउको गोलाबरुद्ध सामुन्ने छ
कति तर्सनु शसंकित मन?
कति मर्नु जिउदै?
कति खुमच्याउन दिनु देशको भुगोल?
कति देखाउनु बिन्तिपत्र अनुहारहरु?
ओ परजीवि महाशय!
खोइ कहाँ बुझ्यौ इतिहास?
कहाँ बनायौ देश?
कहाँ बच्यौ अखण्डता?
कहाँ भयो एकता?
अब,
हमी कति सहुँ-
आजसम्म तिमी आफैंले नबुझेको
पण्डित्याईं र पुराण श्लोकहरु।
भो अब अति भो!
सगरमाथा लत्याएको पनि
बुद्ध सटिएको पनि
आउ एसपटक,
हाम्रा पाइलाहरुले भुगोल सिमांकित गरौं।
Thursday, February 25, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment