Thursday, February 25, 2010

कविता - "माग्नेले" - बज्र कुमार राई,

माग्नेले भन्यो-
म कवाडी हुजुर!
खाली शीशी,पुरानो कागज
फलाम,प्लाष्टिक्,जुत्ता-चप्पल
तपाईं दीहाल्छ त
हामी लीहाल्छ।
मैले भने-
ला लैइजा.....

आज खाली आयो
काँधभरी लिएर गयो
भोलि बोरा लिएर आयो
बोराभरी लिएर गयो
पर्सी गाडी लिएर आयो
गाडिभरी लिएर् गयो
निकोर्सी नकाब लगाएर आयो
पेस्तोल तेर्साएर गयो
फेरी आयो-
ज्यान मारेर गयो
बल्ल पो!
म त्रस्त भएँ
भावविव्हल भएँ
माग्नेदेखि।

दिन बिते
हप्ता बिते
महिना बिते
बर्ष बिते
भनौं त-
दशक बिते
शताब्दी बिते
यसरी तर्साउँदै
लुटेको माग्नेले।

अहिले त-
दिन बद्ल्यो
घाम बद्ल्यो
रात बद्ल्यो
बात बद्ल्यो
यसै भन्छन भन्नेहरु।
तर म भन्छु-
किन बद्लेन माग्नेलाई दीरहने
मेरो आफ्नो मन?
किन बद्लेन माग्नेप्रतिका दृष्‍टिकोणहरु?
खोइ कहाँ बद्ल्यो
बद्लाईएका घामजुनसँगै विचारहरु?

अहिले त-
यत्रतत्र छरिएकाछन माग्नेहरु
जबरजस्ती माग्छन् \लुट्छन्
बन्दुक तेर्साएर
बम देखाएर
माग्दा पनि\ लुट्दा पनि
चेलिबेटी पो माग्छन्
दाजुभाइ पो माग्छन्
भन्छन्-
बम्बैबाट तनखा पठाई लिन्छ
कोइलाखांदमा जागिर लगाई हाल्छ
अझ भर्खरै त!
देशको सीमाना पो लिएर गयो
भन्छ-
यो नदी
यो झरना
यो हिमाल
यो पहाड
यो मैदान
अब उसको भयो रे!
कसले दियो!?
यो मेरो आस्था, जीवन र ईतिहास
कसले बेच्दैछ!?
दुई लाख रोपनी मेरो भूगोल
अहिले त-
मेरो रगत उम्लिरहेकोछ
आउ जवान छातीहरु हो!
मेरो मुटुको गति छाम्न
कतै नबितोस् समय
ढिला भएर।
आफ्नो धर्ती खोस्न
माग्नेसँग।

No comments:

Post a Comment