रगत जस्तै-
रातो,साँचो र खाँचो छ भनेर
आगोको सपथ खानेको हातबाट
मैले सिन्दुरको दासत्व स्वीकार गरें।
त्यही क्षणबाट नै-
म जन्मदाताबाट
रगत-नाताबाट
नमज्जाले विछोडिएँ।
त्यो सिन्दुरको नाममा
मेरो नाम हरायो
मेरो स्वर हरायो
मेरो मनोकांक्षा हरायो
म अर्धाङ्गिनी भएँ
म आईमाई भएँ
यथार्थमा मेरो अर्को जन्म भयो।
सिन्दुर भनेको-
म बाँधिनुमा
एउटा निरंकुश शाशकले
ममाथि शाशन गर्नु रहेछ भनेर
मैले मेरो निरीहता बुझें-
म मर्नुभन्दा मारीनकै लागि हो
मैले लुटाईरहनमा भाग्य ठान्नु पर्छ
मैले उसको पाउलाई मेरो शीर मन्नु पर्छ।
यसरी,
म उसको त्रिष्णामा प्यास भएर
म उसको आवश्यकतामा दासी भएर
म उसको खुशीमा हाँसो भएर
म उसको मर्यादामा सीता भएर
मात्र बाँचिरहे। मात्र बाँचिरहे।
एकदीन,
आमाले भन्नु भो
छोरी! म स्पष्ट बुझ्छु
सिन्दुर र तेरो कथा
फरक यति हो-
तँ सिन्दुरसँग पीडाको अनुभूति गर्छस्
म सिन्दुरभित्र उन्मुक्तिको खोजी गर्छु
सिन्दुर र रगत रातै हुन्छ
सिउँदो रंगाउने हात पो पापी हुन्छ
मैले सोधें-
आमा! के अब म त्यो पापी हात काटीदिउँ त?
आमा अनुत्तरीत हिड्नु भो
मलाई छाडेर
तर मैले यो कथाको अन्त्य गर्नु'छ।
किनकी बारंम्बार नबल्झोस कतै पनि
सिन्दुर र मेरो कथा।
Thursday, February 25, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment