Thursday, February 25, 2010

कबिता - तिमि उभिन्छौ - बज्र कुमार राई

कविता!
तिमी उभिन्छौ
हरेक साँझ
बाध्यताको दुलही बनेर
क्रित्रिम हाँसो हाँस्दै
सुन्धारामा
रत्नपार्कमा
या ठमेलको ब्यस्त फुटपाथमा
कति कति धाउछन्-
जुवाडे,जड्याहा,भलादमी
र,उन्माद बैशका कलिला अनुहारहरु
अनि वार्गेनिङ् गर्छन्
एकछिनको ओछ्यानका लागि
तिम्रो मोलको।
भैगो यो बेला-
म आफैंले आफुलाई
बेच्नुको अर्थ सोध्दिन
तिमीलाई।

कविता!
तिमी छ्यापछ्यापती क्याबिनभित्र
आँशुको मुहान थुनेर
तान्छौ क्यान्सरको सर्को
रित्याउँछौ नशाका शिशिहरु
र,दिउँसै रात पारेर
जिउँछौ शहरीया जिन्दगी।
भैगो म लथेब्रो मान्छे!
तिम्रो उमेर र बैंश सोध्दिन।

कविता!
तिमी प्रेमलाई विश्वास गरेर
बेचिन्छौ बम्बईमा
आफ्नै प्रेमीबाट।
त्यो यातनाको शिविरमा
तिमी पाउदैनौ
बिष पिउनलाई
तिमी भेट्दैनौ
डोरी झुण्डिनलाई।
या कुनै पनि मौका पाउदैनौ
आफुलाई मार्नलाई।
भैगो
म समवेदनाहीन मान्छे!
तिम्रो पीडासँग लडदिन।

कविता!
तिमी बिदेसिन्छौ-
भोलिका सुन्दर सपनाहरुको
रोमान्चक तस्वीर बोकेर
खतामा(अरबी भाषामा नोकर्नी)बस्न
मरुभुमितिर।
अनि,भोग्छौ-
डोल्मा,कमला,सरिताका
साक्षात् कथाहरु....
भैगो
म आफ्नै देशभित्र निर्वासित मान्छे!
तिमीसँग तिम्रो देश सोध्दिन।

No comments:

Post a Comment