Friday, February 26, 2010

कविता, तिम्रो जन्मप्रति, -बज्र कुमार राई

तिम्रो यो जन्मको खातिर
टाउकोमा कात्रो बाँधेर जिउँदै
हामीले थुप्रै बिभत्स्य मृत्‍युको
रङ्गीन होली खेल्यौँ -
अफ्नै छरपष्ट सपनाहरु
आफ्नै छातीमाथि
निर्वाध आगो सल्काउँदै।

यस्तो लाग्थ्यो-
जसरी हामी मारिन्छौं
गाडिन्छौं \ जलाइन्छौं
माटोको काखमा।
त्यसरी नै,
हामी उम्रन्छौं पनि
रगतको गुलाब भएर
यो माटोको सुन्दर बगैंचामा।
र,हाम्रो वालिदानको फैलिंदो सुगन्धमा
रोपिंदै जानेछन् \ फैलिंदै जानेछन्
श्रद्धासुमन फूलहरु।

यो तिम्रो जन्मले-
यो माटोमा
सबै फूलहरुको फूल्ने चाहनाहरु समान बन्नेछ।
र, रङ्गीबिरङ्गी फूलहरुको
हँसिलो अनुहारमा
पुर्णत : एुटा देश रमाउन पाउनेछ।
यही सदिच्छाको पदचिन्हहरु टेक्दै
सबै शान्ति र समुन्नतिहरु
हामीसम्म आएर
निर्ढुक्क बस्नेछन्।

अब तिमी हुर्किसक्यौ यो माटोमा
हाम्रो आस्था, विस्वास् र भरोसामा
तिमी आफ्नो विजयमा
आफैं पराजित बनेर
नभाग्नु हाम्रो मनोकांक्षाहरुबाट।

हामीले अफसोच मान्नुपर्‍यो भने
तिम्रो यो जन्मलाई
शायदै जन्मन्छौ-
फेरीफेरी तिमी
हाम्रो समर्थनको कोखहरुबाट।

No comments:

Post a Comment