Thursday, February 25, 2010

कविता, शहरबाट खातेको वक्तब्य ,बज्र कुमार राई-

यो शहर मेरो पनि हो
तर होइन-
यहाँका कुनै घर, बंगला र चुलिंदो भवनहरु।
मेरै त हुन नि!
यहाँका सडक गल्लि, रत्नपार्क, आकाशेपुल र खुल्ला मठमन्दिरहरु

मलाई यहाँ जहाँपनि भेट्न सक्नुहुन्छ!
पशुपतिको छेउमा वाग्मतीको अनुहार जस्तो
म कतै गन्हाइरहेको हुन्छु फोहोरसँग
म कतै सुतिरहेको हुन्छु कुकुरसँग
म कतै मागिरहेको हुन्छु भिख तपाईसँग।
मसँग तपाईले बोल्ने भाषा छ
मसँग तपाईको जस्तै धर्म छ
मसँग तपाईको जस्तै राष्ट्रियता छ
नियालेर हेर्नुस त मलाई
तपाईंको हुबहु मिल्ने मसँग धेरै कुराहरु छ

मसँग मात्र छैन
मेरो वास्तविक
आमा- बाउ
नातेदार र नागरिकता।
तर यहाँ सबैले चिन्छन मलाई
'खाते' भनेर।
अब भन्नुस् यो शहर मेरो हो कि होइन?

मेरो ठेगाना यही शहर हो
म गाँउमा बस्दिन
तपाईलाई निकै थाहा छ
गाँउमा चोर्न पाइन्न
गाँउमा लुट्न पाइन्न
गाँउमा मार्न पाइन्न
गाँउमा लुक्न पाइन्न
गाँउमा भाग्न पाइन्न

गाँउमा सुन्धारा हुदैन
गाँउमा रत्नपार्क हुदैन
गाँउमा ठमेल हुदैन
गाँउमा हुदैन-
चौबिसै घन्टा खुलेआम चेलि बेच्ने अड्डाहरु।
गाँउमा हुदैन-
नांगो नाच, कर्कश आवाज, जुवाघर
र, कुमान्छे बनाउने अखडाहरु।
गाँउमा हुदैन-
सिंहदरबार, बालुवाटार र मुगदर्शकहरु
भन्नुस त तपाई आफैं
के तपाई बस्न सक्नुहुन्छ गाँउमा?
के तपाईको ठेगाना छ गाँउमा?
अँह तपाई चाहंदैमा भाग्न सक्नहुन्न
यो शहरबाट।

यो शहरमा तपाईको आँखाहरु डुलेकाछन्
तपाईको सपनाहरु छरिएका छन
तपाईले धेरै जान्नु भएको छ यो शहरलाई।
तपाईले धेरै रोमान्स गर्नु भएको छ यो शहरमा
यसर्थ,
यो शहर मेरो भन्दा तपाईको बढी हो।
मलाई त 'खाते' भन्छन् यँहा
तर, तपाईलाई म के भनौं?
यो शहरमा आजकल म
तपाईको नाम खोज्दैछु।

No comments:

Post a Comment