Thursday, August 26, 2010

कविता- विरोधाभास - बज्र कुमार राई

आज निष्पट अँध्यारो छ
भोलि उज्यालो आउँछ पक्कै
तर, खोइ म के भनुँ?
कसरी भनुँ?
भोलिसम्म बाँच्नै नसक्ने
यी हर अन्धकारका
अभागी यात्रीलाई।

जीवन संघर्ष हो-
र,संघर्ष सधैं बिजयी हुन्छ भनेर
म कुन महान युध्दको इतिहास देखाउँ?
रगतको आहालबाट
गरीबको विभत्स्य टाउको झिकेर।
जसलाई,
न झण्डाले चिन्यो
न डण्डाले चिन्यो
निरर्थक मारीए-
बिचरा ति भोलिका उज्यालो देख्न चाहनेहरु।

किन हो खोइ!
मलाई त यस्तो लाग्छ-
भोलिको उज्यालोमा
एकाबिहानै
काग,गिध्द र हुचिलहरु
सर्प, बिरालो र मालसाप्राहरु
ब्वाँसो,स्याल-प्याउराहरु
उठ्ने छन् जुरुक्कै
अशक्त मान्छेको गन्धले।
र, फेरी लुछ्ने छन्
फेरी घिसार्ने छन्
मान्छेलाई।
अनि, म कसरी भनुँ!?
उज्यालोमा मान्छे सुरक्षित छ भनेर
भलै म उज्यालो र भोलिको कट्टर दुष्मन होइन।

ए! भोलिको सपना सजाउनेहरु हो
भोलि पक्कै आउँछ
उज्यालो भएर।
आशा गर-
पक्कै त्यो -
आउँछ आउँछ
तर,कसरी आउँछ!
त्यो भोलि नै देख्नेछौ।

गजल- बज्र कुमार राई

जिउँदो यो लाशलाई ढलाई देउ बरु
चिन्तामाभन्दा चितामा जलाई देउ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु
आउ यो भौतिक शरीर बलाई देउ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो
पलपलको यो लाचारीबाट छलाई देउ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ
आउ आँशुमै बिष छरेर चलाई देउ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता
भैगो त्यो बहुरुपी माया नलाई देउ बरु

गजल - बज्र कुमार राई

सुगा रटाई नारा मात्रै घोक्नु हुन्न अब
नयाँ नेपालको चाहनालाई रोक्नु हुन्न अब

समयको चाल बुझ्दै अघि बढ्नु पर्छ हामी
निर्धाहरुले सधैं बन्दुक बोक्नु हुन्न अब

जटीलताको निराकरण टेबलमा खोज्नु पर्छ
आवेश पाल्दै तातो गोली ठोक्नु हुन्न अब

बिर्सिएर तितो बिगत माटो समाई प्रण गरौं
देशप्रेमीले देशकै शरीर टोक्नु हुन्न अब

मीठो सम्बन्ध निर्माणमा एकाकार हुने बेला
एकार्कामै टाउकोको मूल्य तोक्नु हुन्न अब

गजल- बज्र कुमार राई

भित्र पत्र चोरी भएको खाम भयो मेरो माया
गोप्य कुरा हल्ला चल्यो बदनाम भयो मेरो माया

उनीलाई भेट्ने चौतारीमा कुरीरहन्थें सधैं
अर्कै बाटो हिड्न थालेछिन् बेकाम भयो मेरो माया

दुई मुटुको अन्तर-सम्बन्ध अनमोल छ भन्थें
किन्नेहरुको बिगबिगीमा लिलाम भयो मेरो माया

मनको देवी खोज्नलाई टाढा मन्दिर नजाउँ भन्दा
घरै छेउको अपहेलित धाम भयो मेरो माया

मन खुशीको उज्यालोमा दुइ जिन्दगी बिताउँ भन्दा
भोगाइमा क्षितिजपारीको घाम भयो मेरो माया

गजल- बज्र कुमार राई

आउँदै गरेका खुशीहरु टर्ने भयो आज
छातीभित्रै चाहनाहरु मर्ने भयो आज

तिम्रो लागि रातो गुलाब रोपेको'थें मैले
कोपिलामै ति फूलहरु झर्ने भयो आज

पीडा नै प्रिय लाग्छ तिम्रो यादमा भक्कनिंदा
यि आँखाले आँशुको बिष भर्ने भयो आज

भावनाको सुन्दर महल अन्तर्घातले ढलेपछि
यो उदासी मनले डेरा सर्ने भयो आज


स्वार्थी यो शहरमा तिम्रो खुशी नभेटेर
जिन्दगीले सात समुन्द्र तर्ने भयो आज

गजल-बज्र कुमार राई

मेरो यो शरीरमा खुन जस्तो तिमी
जिन्दगीको अध्याँरोमा जुन जस्तो तिमी

तिमीबिना जिउँनुको कुनै स्वाद छैन
म बाँच्नुको दैनिकीमा नून जस्तो तिमी

विवशताको जाडोले आफैंभित्र कठांग्रिदा
यथार्थमा न्यानो दिने उन जस्तो तिमी

मेरा सारा आशा-भरोशा कालो-मैलो हुँदा
पुन: जीवन रंगाउने चुन जस्तो तिमी

नियतिको चोटैचोटले जीवन भूल्न लाग्दा
इश्वरीय आनन्दको धुन जस्तो तिमी

गजल - बज्र कुमार राई

सभासदज्यु! देश \ बिदेश डुल्दै हुनुहुन्छ
गैर जिम्मेवार साँठगाँठमा घुल्दै हुनुहुन्छ


जनता भिखारी झैं बाँच्न विवश छन्
उहाँहरु अर्बौं सिध्याएर फूल्दै हुनुहुन्छ


मिति बढाएरै छाडे तलब-भत्ता राम्रै छ
हेर्नुस् उहाँहरु बैठकमा झुल्दै हुनुहुन्छ


लोकतन्त्रमा उहाँहरुको परिबर्तन हेर्नुहोस्
नब-मुखियाको ढंगले खुल्दै हुनुहुन्छ


देशबिनाको जनता यी दुईबिनाको नेता
दुनियाँमा हुदैंन भन्ने भूल्दै हुनुहुन्छ

गजल - बज्र कुमार राई

सपनाहीन यो जीवनमा आश थियौ तिमी
यो संसारमा मेरो निम्ति खास थियौ तिमी


दुई आत्म बिछोडिंदा छातीमाथि हात राखें
ह्रिदयको ढुकढुकीमा बास थियौ तिमी


नसक्दा आफू धान्न प्राणदानी खोजे गरें
प्रत्येक पल चलिरहने सास थियौ तिमी


सुखद क्षणको कल्पनामा आँशु पिउँदै बसें
बिदेशबाट स्वदेश आउँदा लाश थियौ तिमी


घामपानी,भोकतिर्खा के के भोग्यौ कुन्नि
निर्दयीको आदेश सामु दास थियौ तिमी


बीच यात्रामै साथ छाड्यौ अब को छ मेरो
सिउँदो कसम सपनाको रास थियौ तिमी


बिधुवी भै दुनियाँको ब्यंग खेप्दै बाँचेकी छु
अहोभाग्य यो निधारमा अविनाश थियौ तिमी


{जसको त्यो कारुणिक सच्चाईको प्रत्यक्ष साक्षी यी दुई आँखा बनें....
उनै दिदीलाई समर्पित यो गजलरुपी भावानाका हरफहरु.....!!!
अनि श्रद्दान्जलि त्यो सपना खोज्दाखोज्दै देहान्त हुनु भएका दाजुको आत्मलाई!!!

अन्तिम अनुभूति - कविता - बज्र कुमार राई

जब योजना र कोशिशहरु
भत्कदैं गए \ ढल्दै गए
नाता \ संबन्धहरु
प्रेम \स्नेहहरु
भावाना र साथहरु
अनयास!
छुट्टिदैं गए \ हराउँदै गए


यस्तो बेला,
तिमी त पक्कै छौ भनेर
यो उराठ अनुहारमा
तिम्रो ओठको स्पर्स छाम्दा-
दाँतका गहिरा दोबहरु पो भेटें मैले!


होइन-
यो हुदै होइन भनेर
यो दुर्बल छातीमा
तिम्रो अंकमालले रगाडेका
प्रेमानुभूति खोजें-
त्यहाँ त-
पिरिरहेका \ फैलिरहेका
क्यान्सरमय घाउहरु पो भेटें मैले!


यतिबेला त हो नि!
केही मान्छेहरु कुमान्छे भएर
कुल्चदैं हिडें \ थुक्दै हिडें
निर्बाध
मेरा अबिराम लक्ष्य र संभावनाहरु...


शायद म,
योजनाहरु भत्के भनेर
कोशिशहरु ढले भनेर
दुरगामी बिचारहरुबाट
अन्तरात्माको हिम्मतबाट
पुर्णत: नभत्केको हुँदो हुँ
नढलेको हुँदो हुँ


यसैबेला-
तिमी अन्तर्घातको उपहारहरु छाडेर
भविष्यको सपनाबाट
बर्तमानको साथबाट
जिन्दगीको सार्थक सुगन्धबाट
हरायौ


यस्तो लाग्छ-
अब चाहीं म भत्कें
अब चाहीं म ढलें

कविता - खाँचो - बज्र कुमार राई

यो
नितान्त
निर्जन
जीवनको जर्जरता
कसरी पार गरुँ!
यतिबेला मलाई
तिम्रो आदर्श प्रेम्को खाँचो परेको छ प्रिय!


एकपटक,
तनमन खुम्चाएरै
भाग्यलाई धिक्कारेरै
मिक्ष्रित भैदेउ-
म र मभित्रका
असीमित चाहनाहरुसँग।



तिम्रो क्रिपालु साथले
फैलिन चाहन्छु]
झाँगिन चाहन्छु
मौलाउन चाहन्छु
जिन्दगीको नांगो पहाडभरी।



मभित्र
अट्समट्स
बिषाप्त विवशताहरुको ज्वालामुखि फूटेर
बग्न चाहन्छु-
रगत,आँशु र पसिनाको
समुद्र भएर
त्यो फेरीफेरी,
नफुट्ने
नटुट्ने
नबग्ने गरी
आफूभित्रभित्रै।


हेरन प्रिय!
म र मेरा गतिशील पाइलाहरु
बाध्यताका चरम पहाडहरुले
थुम्काथुम्की, घुम्ति र अनगिन्ती मोडहरुले
छेकिरहेछन् \ रोकिरहेछन् \ अन्मलाइरहेछन्


एक निमेष नै सही,

मेरो द्रिष्टिको सम्मुख
हाम्रो त्यो स्वप्निल हिमचुली
कुल्चन चाहन्छु प्रिय!
कतै मेरा पाइलाहरुसँग
तिमी नहिंडेर पो हो कि!
या तिमीभित्र मलाई
तिमीले
मेटेर \ च्यातेर \ फालेर पो हो कि!
म नासिंदै छु
भासिंदै छु
विक्षिप्त मनभित्रभित्रै।
यतिबेला मलाई
तिम्रो आदर्श प्रेमको खाँचो परेको छ प्रिय!

कविता- यो शहरसँग - बज्र कुमार राई

यो शहरसंग
न जन्ती छ, न मलामी छ
सहोदर खुनमा पनि।
यो शहर बेसंस्कार र बेशरम भएको छ।
यो शहर निर्दयी र आत्मघाती भएको छ।

यो शहर
उल्टो गतिमा
दौडदै छ
फैलिंदै छ
भोको समयको विवशता सँगसँगै।
रत्नपार्क
सुन्धारा
अनि, यस्तै भावनाहीन
ठमेलहरु भएर....
जहाँ संमबेदनाबिहीन कविताहरु
बेच्छन्-
संकटग्रस्त,अशुरक्षित
आफ्नो अस्मीता छ्यासछ्यास्ती
एकबट्टा सिगरेटभन्दा सस्तोमा।

यो शहरसँग
प्रेम छैन\समर्पण छैन
विश्वास छैन \ सुवास छैन
जीवनको कुनै आरोहण छैन
यो शहर आमा बेच्ने थाइल्याण्ड भएको छ।
यो शहर नांगो-निर्लज्ज र बलिष्ठ अमेरीका भएको छ।

यो शहरसँग
जानेर जान्न नसकिने
बुझेर बुझ्न नसकिने
देखेर देख्न नसकिने
ठूलो वेवास्ता छ लाचारीको।

भोगाइमा-
बिपन्नलाई यो शहर-
भोकमरीको
सोमालिया
युगाण्डा
सियरालियोन भएको छ।
सम्पन्नलाई यो शहर-
धर्तीमा परी नाँच्ने एक टुक्रा भएको छ।
सपना देख्नेहरुलाई यो शहर-
घाँटी रेटीने अफगानिस्थान,इराक भएको छ।
छोरीको भाग्य खोज्नेहरुलाई यो शहर-
मरुभूमिमा बलात्कारको शिविर भएको छ।

खोइ!
कुन \ कस्तो
राष्ट्र \ राष्ट्रियताको पहिचान खोज्नु
निरीह मान्छेले
दृष्‍टिकोणको रक्तअल्पताले
थला परेको
अशिष्ट र पुर्वाग्राही
यो शहरसँग।



Mail Search

गजल-बज्र कुमार राई

आफ्नाले'नि पराई ठाने उच्च यो शीर ढलेको बेलामा
निभाई दिने कोही छैन पीडाले मन जलेको बेलामा

दु:खहरुको पहाडमाथि जीतको झण्डा गाड्छु भन्थें
उक्लीएनन् पाइलाहरु दु:खाईले जीवन ढलेको बेलामा

हरेक अँध्यारो जिन्दगीको उज्यालोले चिर्छु भन्थें
शाहसको राँको निभ्यो आँधिहुरी चलेको बेलामा

सकारात्मक सत्कर्ममा सफल भाग्य खोजी गर्थें
हर प्रयत्न विफल भए बिधाताले छलेको बेलामा

आजका आँशुसँग भोलिका खुशीहरु साट्छु भन्थें
सपनाहरु अधुरै जले मुटुभित्रै आगो बलेको बेलामा

कविता, अफसोच - बज्र कुमार राई

कविलाई
भोक लाग्दा-
कुनै जमाना
कविको छातीमा
गर्वसाथ झुण्ड्याई दिईएका
'मेडल'हरु
खान मिलेन कपाकप।
र,कतै जाकटीमा बिकेनन् पनि।


कवि नांगो हुँदा-
कविको लाज छोपेन
बासी समाचारपत्र झैं
खात लागेका
प्रमाणपत्रहरुले।
र, कसैको आँखामा
बुझाईको दृष्‍टि बदलेन पनि।
किनकि,यो अबकाशप्राप्त राष्ट्रसेबकको
वा बन्दुकमा जिन्दगी राख्ने लाहुरेको
'पेन्शन पट्टा'
होइन।


कवि असहाय र बिक्षिप्त हुँदा-
कविको आँशु पुछेर
धाप मार्ने
कुनै उदारक मान्छे भेटेन।
र, भेटेन-
हात मिलाउने हितैषी पनि।
कविले
यो समाजभरी
यो देशभरी।


खोइ कहाँ गए!
कविको पछीपछी स्वर दिने
ति जुलुश मान्छेहरु!
खोइ किन
आस्थाहीन,विश्वासहीन भए!
कविलाई अबिर दलेर
उत्सव मनाउने
आदर्शवादी सारथीहरु।
खोइ किन
समर्थनहीन भए!
कविको आवाजमा
पट्टट ताली पिट्ने हातहरु।
खास कविको लागि मात्र।


भैगो-
अब कवि!
यी 'मेडल'
हरु
यी 'प्रमाणपत्र'
लाई
आगो लगाएर
बिसर्जित हौ-
इतिहासबाट।
तर नसराप सतीले जस्तो.....
किनकि, एउटा सत्य अफसोच!
यो देश तिम्रो हो
तिमी यो देशको सच्चा प्रेमी हौ।
युगान्तर युगान्तर।

गजल- बज्र कुमार राई

पूजा तिमी प्राप्ति तिमी कहाँ मेरो भूल भयो
तिम्रो माया सधैं इश्वर मेरो चाहीं फूल भयो


उद्धेश्यका बाटोहरु हात समाई हिडौं भन्थें
मलाई टेक्दै तिमी तर्यौ यो छाती पूल भयो


जाने रहेछौ छोडी गयौ रोक्न सकिन मैले
तिम्रो खुशी मेरो लक्ष्य यही मेरो कबुल भयो


भाग,गुणा,जोड,घटाउ मिलेनन् यी यथार्थमा
अन्तत:मेरो प्रेम तिम्रो लागि अयोग्य कूल भयो


उराठ,उदास यो जिन्दगीको भग्नावशेषमा'नि
तिमीलाई खोज्ने मेरा आँखा आँशुको मूल भयो

अर्को आरम्भ- बज्र कुमार राई

अक्षरहरुको
शब्दहरुको
वाक्यहरुको
बारुद बनाएर
कलमभित्र खाँद्छु

र,विस्फोट गराउँछु
परिवर्तन रोक्ने
तिम्रो घातक टाउकोमा
बगिसकेका
बग्दै गरेका
पसिना,आँशु र रगतमा
निर्धाहरुको पिरो सपना घोलेर
कुण्ठा र उन्मुक्तिको बेलुन भर्छु
र, हान्छु

तिम्रो जिद्धे आँखामा
दबेकार दबाएका
निर्दोष लाशहरुलाई
ईतिहाँस र बर्तमानको राँको देखाएर तर्साउँछु
र उर्लाउँछु
तिम्रो बिरुद्ध
जगित्रा,मुर्कुट्टा र किचकन्निहरुको
अभावग्रस्त जुलुश

शहीदगेटमा
क्रस टाँगेर तिम्रो
छाती चिर्छु
हातखुट्टा काट्छु
जिब्रो थुत्छु
कानमा आवाज पड्काउँछु
र,गाडेर टाउकोबाट तिमीलाई
सार्वजनिक गर्छु
लौ हेर्नुस्
मुखियाको विभत्स्य हत्या !
यदी सक्नु हुन्छ त ?
छम्नुस
यसको प्रत्येक इन्द्रियहरुमा
आजसम्मका
पापीष्ट स्पर्सहरु…..।

-बज्र कुमार राई

काँडैकाँडा बीचमा एउटा मन परेको फूल थियो॥
टिप्न जाँदा घाउ लाग्यो मेरो के नै भूल थियो॥

सम्झनाले मार्नु मार्थ्यो त्यो फूल नदेख्दा’नि,
यो मुटुलाई सधैं घोच्ने फूलको नजर शूल थियो॥

चाहनाले पाइला सार्दै फूलको नजिक पुगि हेर्दा,
त्यो फूलको मिठास चुस्ने भमराको हुल थियो॥

कहिले काहींको वार्तालापमै फूलसँग मुटु साटिएछ,
तर त्यो फूल नस्वीकार्ने घरमा कडा कूल थियो॥

अन्तर्मनको सम्पर्कमा अचेल अत्तोपत्तो छैन हजुर,
जुनि/जुनि साथै रहने त्यो फूलसँग कबुल थियो॥