मर्नेहरुको रगतले-
बाँच्नेहरुको स्वप्नील देशमा
संबिधानको किताब लेखिएन।
मानौं लख्ने नेत्रित्वदायीहरु
लेख्नै नजान्ने थिए।
के गाली गरुँ-
ति विवशहरुलाई
जो ति ब्रिद्धशिशुहरु
भर्खरै कक्षा एकको सरकारी पाठशालामा
पढदै थिए निशु:ल्क
आकर्षक तलब-भत्ता खाँदै।
फेरी समयको पाउबन्दी देखाएर
थपे समय
त्यही 'होमवर्क' लेख्नलाई।
भनेनन तर-
हामी दुइ साल एकै कक्षामा 'फेल' भयौं भनेर।
अझै मन नखुम्च्याउँ
अझै आशा नमारौं
मानौं यीनीहरुले लेख्नेछन्
नयाँ किताब
र,बाँड्नेछन् हाम्रो हातहातमा।
तर त्यो-
साह्रै केरमेट हुने पो हो कि!
अति अस्पष्ट हुने पो हो कि!
आशंका उत्तिकै छ मनमा।
खोइ के लेख्यौं यस्तो-
असफल र बेमेल
यसपालीको कविता।
झण्डाहरु धेरै फहराए
सपनाहरु धेरै बाँडिए
सहमती र सम्झौताहरु धेरै भए
तर हाम्रो पेटका लागि-
ति झण्डाका हँसिया-हथौडा
हलो-जुवा काम लागेनन्।
ति झण्डाका ताराहरु
हाम्रो बर्तमान र भविष्यका लागि
उदाउन सकेनन्।
हाम्रो निधारमा।
हाम्रा नानीहरुले
देशको नक्सा कोरेर
कोइलाले ढुंगामा
क ख लेख्न खोजिरहे।
तर बाँडिएन
ति झण्डाको कलम
बिकटतिर।
देश दुइ लाख रोपनी घट्यो
सीमानाबाट।
तर निकालिएन झण्डाबाट
खुँडा-खुकुरी,मशाल
र, देशको वास्तविक नक्सा।
अनि,गरिएन पनि-
शाहसीक खबरदारी!
ओ वैरी हिम्मत नगरे हुन्छ
वीर गोर्खालीको नेपाल कुल्चने।
हामी हजारका लागि एक काफी छौं
आइ नै लाग्यौ भने-
भूलेर हाम्रो इतिहास भन्दै।
खोइ के लेखौं यस्तो-
लाचारी,बेशरम र पराधीन
यसपालीको कविता।
गाउँमा उर्दी आयो-
शहरको सडकमा
अधिकार खोस्न आउ भनेर
हामी आयौं-
आकाशे पानीले भिजेको माटोमा
मकै छर्न छोडेर।
दुइ छाकको लागि आगो नबल्ने
घर नामको झुप्रोमा
अलपत्र नानीहरु छाडेर।
नाराहरु चिच्याउन
जिन्दाबाद!!!
मुर्दाबाद!!!
तर सुनेन-
शहर र सिंहदरबारले
र,पाइएन पनि
आत्माधिकार।
खोइ के लेखौं यस्तो-
आफैंभित्रको मर्माहत र विवश
यसपालीको कविता।
नहुनेहरु
पसीनाको लेउ पखाल्न नपाएर
गन्ह्राइरहे दंगदंगी दुर्गान्ध।
हुनेहरु
'परफ्युम' छरेर शरीरभरी
मग्मगाइरहे कृत्रिम सुगन्ध।
गरीब बाउका तरुनी छोरीहरु
बेची नै रहे-
सीमापारिका'पिलाहाउस'तिर।
र बेची नै रहे-
लालचमा
हाम्रा दिदिबहीनीहरु
मरुभूमितिर।
कुनेपाली दलालहरुबाट।
खोइ के लेखौं यस्तो-
धर्ती-आकाश नै जती
असमान र सत्य
यसपालीको कविता।
डर्,धम्कि,अपहरण,असुली
हत्या \ आत्महत्या
दैनिकी बन्यो देशमा
भ्रष्ट्र \ भ्रष्ट्रचार
अन्याय \ अन्यायी
झनझन बढे देशमा
महँगी \ महँगाइ
उक्लियो चरमचुलीतिर
गरीबको पेट कुल्चँदै।
र भोकै-नांगै भए
जनता नामको प्राणी।
खोइ के लेखौं यस्तो-
अनैतिक,गैर जिम्मेवार
र, नियम- कानुनबिहीन
यसपालीको कविता।
--------------------------------------------------------------------------------
Wednesday, June 16, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment