कसाही एकैचोटमा छिनाएर मार्छ
तिमी चिमोटीचिमोटी
घोचीघोची
कोतरीकोतरी
थिलोथिलो बनाएर मार्छौ।
अब भन-
को ठुलो क्रुर?
को बढी अधर्मी?
को महापापी?
कसाही या तिमी?
कसाही पनि मान्छे!
तिमी पनि मान्छे!
र,निरीह म पनि मान्छे!
लौ कसाहीसँग त मन हुन्न रे!
उसलाई त जीवनको मुल्य थाहा छैन रे!
उसलाई थाहा छ त केवल-
जिब्रोमा स्वाद
मेरो अंग-प्रत्याङको।
तिमी त-
जीवनको दर्शन फलाक्ने मान्छे!
प्रेमको परिभाषा सिकाउने मान्छे!
आँशु र खुनको मुल्य बाड्ने मान्छे!
जुधाउँछौ चियर्समा
मेरो आँशुको बोतल
र,पिउँछौ चिरीपचिरीप
मेरो खुनको स्वाद।
मेरै मुटु-कलेजो पोलेको सितनसँग।
अब भन-
जो म -
कसाही र तिम्रो घेराबन्दीमा
तुक्रुक्क बसेको छु
निधारले हात थामेर।
भनन-
यतिबेला
कसको प्रेम स्वीकार गरुँ म?
कसाहीको या तिम्रो?
मलाई त-
कसाहीको धारिलो हतियार पनि स्वीकार्य छ।
र,हतियारभन्दा धारीलो तिम्रो वचन पनि स्वीकार्य छ।
किनकी,
दुबैले मेरो जीवनको आदर्श बुझ्दैनन्।
आखिर दुबैले मेरो ज्यान लिने नै हो।
भनन-
म कोसँग मरुँ?
कसाहीको हतियार्सँग?
या तिम्रो वचनसँग?
Wednesday, June 16, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment