Wednesday, June 16, 2010

कविता - अन्तत: तिम्रो सम्झना र मेरो यथार्थ - बज्र कुमार राई

बिषालु सर्प तिमी-
मैले पिलाएको दुधको गुण
बेमज्जाले चुकायौ आज
डसेर मेरो सम्पूर्णता।

म त तिम्रो भोक मेटाउन
सकिनसकी बेचेर पसिना
भोकभोकै अघाउने मान्छे!

म त तिम्रो शोकमा
पिलपिल बग्ने आँखा पुछीदिएर
आफूभित्रै आँशुको अरुण बगाउने मान्छे!

म त तिम्रो सत्रुले तिमीलाई छुन अघावै
बलिदानको रगत बगाउने मान्छे!

म त तिमी रोगले अक्रान्त हुँदा
घोटेर अस्थिपन्जर-
संजिबनी निकाल्ने मान्छे!

मेरो कुनै अभिष्ट भएन
मेरो कुनै ब्यक्तिगत
सपना,रहर र यथार्थ भएन

मेरो स्वार्थ र मनोकांक्षा-
तिम्रो उन्नति, प्रगति र दिर्घायु मात्र थियो।
एकार्थमा-
तिमी सिद्धान्त थियौ
म व्यबहार थिएँ
तिमी प्राण थियौ
म श्वासप्रश्वास थिएँ।
म त मनैमनको अग्लो हिमाल थिएँ-
केवल त्यो तिम्रो लागि।

प्रतिफल!
भोको पेटमा लात हान्यौ
सुख्खा आँखामा एसिड खनायौ
लुटेर मेरो सम्पूर्ण
खुन,पसिना र आँशु
बढाइ दियौ ऋण
लगाइ दियौ दिन
उफ!!! खुइया!!!
म त रगतमा शाश्वत नाता देख्ने मान्छे!
म त भावनामा अटुट संम्बन्ध खोज्ने मान्छे!
कसरी लडौं म?
......आइलागेका
यी कालो दिन
र,सेतो रातहरुसँग।

म त टुटेको \ फुटेको मान्छे!
म त छुटेको \ हराएको मान्छे!
तिम्रो यो हदको गुणलाई
अन्तत: मेरो लाश चढाउँछु
हेर है-
टाउको फोडेर मेरो
कति थिएछन् योजनाहरु
जिन्दगीको।
अनि,छातीदेखि पेटसम्म
चिरेर चर्चरी
हेर-
मेरो प्रेम कति थिएछ-
तिमी र तिम्रो अन्तर्घातप्रति।

अब म कदापि कदापि
टुटदिन \ फुटदिन
छुटदिन \ हराउँदिन
र,कुनै दु:ख पनि दिन्न
तिमी हाँस गललल
तिमी बाँच मज्जाले
सयौं काटेर तन्दुरुष्त
म त यसै हारेको मान्छे!
म त यसै मरेको मान्छे!
म त यसै मरेको मान्छे!!!
त्यो तिम्रो लागि
केवल तिम्रै लागि....

No comments:

Post a Comment