Cc: rai_biwash@yahoo.com
आधारात ढल्किन्छ
समसानतिर
आँखाले केही समय मस्तको निंद्रा खोज्छ
मन एकतमास पोखिएर सिरानीमा
छट्पटिन्छ ज्यान
धिकार्दै आफूलाई नै।
कथांचित,
झकाई हाले अर्ध निंद्रा
सपनामा पनि
एकलिन्छु \ बिछोडिन्छु
कता हो कता
झोर-जंगलतिर हराउँछु
बाटो खोज्दा-खोज्दै
अनि, पुग्छु -
खोंचबाट उभिएको भीरमा।
फाल हानेर त्यो अप्ठ्यारोबाट
समापन गर्न सक्दिन जिन्दगी
अनि, चिच्याउँछु बेस्सरी बेस्सरी
ए! मलाई खेदो गर्ने विवशताहरु हो
ए! मलाई पलपल सताउने यादहरु हो
ए! मेरो जिउँदै गाईजात्रा निकाल्नेहरु हो
आउ न-
यो बिकट बाध्यतामा
मेरो चोक्टाचोक्टा लुछेर
पहीचानहीन
सनाखतहीन
मार मलाई।
यसै अल्मलिन्छु-
दोधारमा जिन्दगी
यो असह्य काटें मात्र भने त!
कुनै मुलबाटो भेट्टाउँथें कि!
खास म त्यसैलाई हिड्न चाहन्छु।
अनि फेरी-
गुहार्छु!चिच्याइ चिच्याइ
ए! मेरा हितैषीहरु हो
ए! मेरा सम्बन्धहरु हो
ए! मेरा अन्तरात्मीयहरु हो
बचाउ मलाई
म बाँच्न चाहन्छु।
आउँछन् दगुर्दै-ति सबै
अनि, फोडिदिन्छन् आँखा
थुती दिन्छन् जिब्रो
काटी दिन्छन् हातखुट्टा
र,भन्छन्-
अब हेर्ने गर्
बोल्ने गर्
गरीखान सिक्
थुइक्क नामर्द।
मसँग-
बाँकी रहन्छ
पापी पेट
दु:ख्ने मुटु
सोच्ने दिमाग
र,एउटा मान्छे नामको शरीर।
मैले त यसका लागि पो संघर्ष गर्नु पर्छ झनझन!
यसैगरी-
छर्लङ्गिन्छ कालरात्री
ब्युँझन्छु \ उठ्छु
पखाल्छु आफूलाई।
अनि, मन्दिर जान्छु
पुज्छु निर्जिब ढुंगाको आकारहरु
चढाउँछु जल
बरपिपललाई
र,माग्छु बरदान
मेरो खास कोही होस्
म दुनियाँसँग लड्न सकुँ
म निर्भिक बाँच्न सकुँ!!!
म निर्भिक बाँच्न सकुँ!!!
बिचरा त्यो देवता र म
सधैं निरीह
सधैं पराधिन!!!
Wednesday, June 16, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment