एउटा खोचमा
निख्लाम पल्टेकोछ
बगर जिन्दगी।
बग्छ बाढी
खहरे खोल्छाहरु
बगाएर घरीघरी
जिन्दगीको किनारा।
समाउने न त भुट्यानहरु छन्
रोक्ने,जोड्ने न त स्वरुपहरु छन्
सहनुको कुनै सीमाना छैन
फगत बग्नु छ-
बेठेगान
बेसंस्कार
घुलिंदै,अल्झंदै...
धमिलो बहाबहरुसँग...!
नभेटेको होइन-
नबगाएको पनि त होइन
कलकल आवाज
निर्मल मन
सुस्तरी चाल
र,स्पर्शी मिलन।
ति मात्र चोइटिएका
केही अविश्मरण
खाल्डाखुल्डी गाडिएर
अन्धावेग जिन्दगीमा
बग्यो निरन्तर
निरन्तर
सम्पुर्णता निथ्रुक्क भिजाउदै।
यस्तो लाग्दैन-
कतै अडिन्छ जिन्दगी
एउटा अत्यन्तै
स्वर्णिम
स्वप्निल
साथको आडमा।
मनोहरा भएर।
उल्टै छ-
कर्मनाशा
सयौं पहाडहरु ढालेर
रोक्न खोजे पनि
छेक्न खोजे पनि
नित्तान्त एकलाश जिन्दगीमा।
अब त-
खाँचो घोटेर गलामा
अयोग्यता भोक्दै ढल्नु छ जिन्दगी।
न हर्ष न त बिस्मात नै।
कुनै सारथी आयाममा।
कुनै सुनौंलो सुरुवातमा
मात्र भग्नाबशेषमा
टुक्रुक्क बसेर
हत्केला थाम्दै निधारले
थुकका छिटाहरुमा
खोज्दै छु जिन्दगी
कता उछिटियो!
कता हरायो!
एक्लै छाडेर
भोगाईहरु
जिन्दगीले
कोर्दैछु बगर जिन्दगी
अनि बाटोहरु...
बेअर्थ
बेमेल
जिन्दगीको दुइ किनारामा
जिन्दगी!
निरुत्तर
निरुध्देश्य
एउता अर्को जिजिबिषा
जिन्दगीमा।
Thursday, April 22, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment