बर्षौ पहिले-
जब एउटा दुधे बालक
अलपत्र छाडेर गयौ सिकुवामा
आमा तिमीले।
त्यो बेलाबाट नै-
कालो भाग्य लिएर
जन्मेको एउटा टुहुरा
तिम्रो खोजीमा
आफैं हराएको छ।
कतै जम्काभेट भैहाल्यो भने-
अंगालोमा सुम्सुमाउँदै
हजारौं पटक चुप्पा गर्नु है आमा!
त्यो नालायक जवानलाई
मेरो कान्छा भेनेर।
हेरन-
उसलाई तिम्रो थाङ्नाको ओछ्यानमा पल्टेर
तेल लगाई माग्नु छ रे!
तिम्रो ममतामा लाडे पल्टेर
तिमीलाई दंगाउनु छ रे!
तिम्रो काखमा मस्तले निंदाउनु छ रे!
अझ भन्छ-
तिमीलाई आँखाको नानीमा डुलाउनु छ रे!
तिमीलाई मुटुको धड्कनसँग जोड्नु छ रे!
तिमीलाई जिन्दगीको हर् शुखान्त भोगाउनु छ रे!
उसलाई त-
तिमीले छाडेदेखि
मुखमा थुकिएका थुकका दागहरु देखाउनु छ रे!
शरीरभरी भाँचिएका
सिर्कुनाका लुम्साहरु देखाउनु छ रे!
मन र आँखाभित्र थुनिएका
गालि र श्रापहरु फुटाउनु छ रे!
जदौरी र भतुवा जिन्दगीको
इतिश्री सम्झाउनु छ रे!
उसलाई त-
तिम्रो लोग्नेको मजबुर अन्त्य कथा सुनाउनु छ रे!
केवल तिमी बुझ्न सक्छौ रे!
त्यो कथा।
एउटी अर्धाङिनी भएर।
जन्म- जन्मान्तरको प्रेमिका भएर।
जसको मिलन छोटो रह्यो
बिछोड अति लामो-
उदेग, अशान्त र पीडादायी।
उसलाई भन्नु छ रे!
तिम्रो त्यो लोग्ने-
साँचो बाउ थियो रे उसको।
जसले आफ्नो वीर्यदान
र,तिम्रो दश महिने गर्वलाई
रगत पसीना बगाउदै
हुर्कायो\पढायो\लेखायो रे!
धन्य!धन्य!! सत्य र महान!!
त्यो एक्लो लोग्ने मान्छे!
कर्तब्यपथबाट कहिले पछि हेटेन रे!
उसले-
तिमीलाई
कहाँ कहाँ मात्र खोज्दैन रे!
घ्रिना सहँदै बाँचिरहेका
ति आइमाइहरुमा।
ब्रिधाश्रममा पन्छाइएका
ढनाढ्य रवाफदारका
आमा\आमाहजुरहरुमा।
समाजिक तिरस्कारले
बहुलाएका नारीहरुमा।
तर भेटेन रे उसले-
उसको साँचो आमा।
उसँग त-
तिमीलाई चिन्ने तिम्रो एउटा फोटोसम्म छैन रे!
तिमी बसेको चिहान पनि थाहा छैन रे!
कस्ती थियौ होला हगि आमा?
उ त भन्छ-
मेरी आमा!
सीता सावित्री भन्दा फरक
सिद्धकालि थीन सिद्धकालि!
रे उसको आमा।
जसको रुपचित्र म कोर्न सक्दिन
जसको वर्णन म गर्न सक्दिन
म त मात्र कल्पन्छु। मात्र कल्पन्छु...
आमा! तिमी जहाँ छौ-
आउ है एक पटक फेरी जन्मेर
मेरो थाप्लोमा आर्शिवाद दिन।
म लडेर \ भिडेर
जित्न सकुँ-
यो दुनियाँ।
तिमो यादका लागि
तिम्रो विश्वासका लागि
तिम्रो छोरो भएर।
ओ मेरी आमा!
ओ मेरी आमा!
Thursday, April 22, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment