Friday, April 2, 2010

कविता ,मान्छेको अनर्थ र आरम्भ - बज्र कुमार राई

आमा!
तिम्रो आस्थाको मन्दिरमा
मानव बधशाला खोलेर
मान्छेको गर्धन छिनाल्छन् मान्छे
के तिमीले मागेको हौ र?
निंहत्था मान्छेका खप्परहरु।

यो के सोधें मैले!
यो के देख्नु \ सुन्नु पर्यो तिमीले!
जुलुश जुलुश मान्छेहरु
मृत्‍युको माग राखेर
जोरी खोज्दोछन् खोज्दोछन्

अचम्म छ उस्तै-
त्राही त्राही हत्याराहरुको।
साम्राज्य बन्यो तिम्रो छाती
बिगबिगी तस्करहरुको।

यहाँ
केही मुठ्ठी मान्छेले-
खोइ कताबाट \कसरी फाल्यो जाल
शान्त मान्छेको नदीमा
भुट्भुटिएका छन् मान्छे बगरमा।
तैपनि भन्छन् मान्छे
हामी बाँचेका छौं।

यहाँ नै-
केही मुरी मान्छे
अन्जान \ अपरिचित
पटमुर्ख \ अनागरीक छन्।
यदाकदा लुट्न पाएर
मान्छेको दुर्गम आश्था
भन्छन् मान्छे-
हामी दिनलाई रात
र,रातलाई दिन बनाउनेको पक्षमा
अग्रगामी छौं।

यहाँनेर मान्छेले-
किन बुझ्न सकेनौं!?
किन सिक्न सकेनौं!?
मान्छेको आधारशीला
सुसभ्य \ सुसंस्कार
शुशान्त जीवन जिउँनुको कला!

भोलिका लागि -
आज र अहिले भएर
सिक्ने पो हो कि?
सिकाउने पो हो कि?
मान्छेका स्वाधीन जीवनका सच्चाईहरु।
बिल्लिबाठ मान्छेका पाइलाहरु टेक्दै
रगतका अनगिन्ति टाटाहरु पखालेर
घामको नयाँ अनुहार
जन्माउदै
बस् जन्माउदै...

No comments:

Post a Comment