Thursday, April 22, 2010

कविता - "दिन लागेपछि" - बज्र कुमार राई

देवाता भाग्छ!
दुधले नुहाउदैन
आरती-भजन बेसुर बन्छ
फूल-प्रसाद ग्रहण हुँदैन
जति पुकार न मान्छे-
कुनै जिउँदा आउँदैनन्
साक्षत् इश्वर भएर।
दिन लागेपछि....

जिन्दगीको कुलो
पहिरोले पुरिन्छ
कता हो कता।
जोत्दै गरेको हलगोरु
सेरिन्छ जुवामा।
भाँचिन्छ फाली हलोसँगै।
बिरक्त खडेरी
बाँझो पल्टन्छ मान्छे
दिन लागेपछि....

लोग्ने स्वास्नीको हुँदैन
स्वास्नी लोग्नेको हुँदैन
छोराछोरी बिल्लिबाठ हुन्छन्
आफन्त मुख फर्काउँछन्
अर्कातिर।
दिन लागेपछि....

छँदाखादैको हँसिलो परिवार
बिछोडिन्छ नमज्जाले।
समाज बलियाको पछि दौडिन्छ
जुलुश उल्टेर।
दिन लागेपछि....

मान्छे-
बिषले मर्न सक्दैन
पासोले झुण्डिन सक्दैन
जति मागुँ -
लम्पसार परेर
मृत्‍युको भिष
अहँ आउँदैन मुक्ती
सजिलो बाटो हिंडेर।
दिन लागेपछि.....

आँखा फोडिन्छन्
दाँत झारिन्छन्
हात्-खुट्टा भाँचिन्छन्
रगत बगाइन्छन-
ह्वालह्वाल्ती।
अनि निष्प्राण बन्छ मान्छे
दिन लागेपछि....

त्यो दिन मान्छे-
भोटमा हार्छ
नोटमा हार्छ
कोटमा हार्छ
स्वाभिमानमा हार्छ
युद्धमा हार्छ
देश \ बिदेशमा हार्छ
प्रेम \ स्नेह
माया\ममतामा हार्छ
दिन लागेपछि....

मान्छे मात्र कहाँ हो र!
देश हार्छ
माटो हार्छ
देवता हार्छ
दैत्य-दानव हार्छ
यो ब्रम्हाण्ड हार्छ
खगोल हार्छ
समय हार्छ
सत्य- धर्म हार्छ
दिन लागेपछि....

यसरी आँशु बिक्दैन
मान्छे बिक्दैन
र,अराजक्ता फैलिदै जान्छ-
निर्दयी भएर
आकाशभन्दा विशाल विशाल....
दिन लागेपछि.....

No comments:

Post a Comment